पथरीशनिश्चरे /संविधान दिवशको अवसरमा मोरङको पथरीशनिश्चरे नगरपालिकाले कँही जग्ग्गा जमिन नभएर नगरभित्र घरबार विहीन भएकाहरुको आवासको बन्दोबस्त गर्ने घोषणा गरेको छ ।

नगरपालिका कार्यालयले बुधबार आयोजना गरेको संविधान दिवसको कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राईले त्यसखाले घोषणा गरेका हुन् ।

उनले कँही जग्गा जमिन नभएर घरबासको समस्या भएकाहरुको पहिचान गरी एकै ठाउँमा बसोबासको क्रमिक रुपमा व्यवस्था गर्न आवास क्षेत्र खडा गरिने योजना रहेको उल्लेख गरे । जसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेको सुनाए ।

सो अवसरमा, नगर प्रमुख राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले कार्यालय प्राङगणमा दैनिक कार्यालय समयमा रहने झण्डाको उद्घाटन् स्वरुप झण्डोत्तोलन गरेका छन् । त्यहाँ ४ वटा मैनवत्ती बालेर संविधान जारी भएको चार वर्ष भएको संकेत प्रस्तुत गरेका थिए ।

नगरका जनप्रतिनिधि, कर्मचारीहरुको सहभागितामा भएको कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले स्थानीय अधिकार प्राप्त गर्ने संविधान निर्माण हुनु आमनागरिकको सम्मान भएको उल्लेख गरिन् । साँझ नगरपालिका कार्यालयमा दिपावली गर्ने कार्यक्रम रहेको छ ।

साँझ नगरवासीले घर घरमा तथा सरकारी तथा गैरसरकारी संघ संस्थाले कार्यालयमा दिपावली गर्दै मुलुकलाई नयाँ दिशामा डोर्याउने संविधानको स्वागत गर्न समेत नगर प्रमुख राईले आव्हान गरेका छन् ।