बिर्तामोड/ चिया मजदुर सम्बद्ध संघ संगठनले असोज १० गतेदेखि सम्पुर्ण चिया उद्योग बन्द गर्ने घोषणा गरेका छन् । चिया क्षेत्रका मजदुरलाई सरकारले तोकेको ज्याला उपलब्ध नभएपछि आन्दोलित संघले असोज ९ गतेभित्र कार्यान्वयन नभए १० गतेदेखि चिया उद्योग बन्द गर्ने चेतावनी दिएका हुन् ।
नेपाल सरकारले राजपत्रमा चिया क्षेत्रका मजदुरको दैनिक ज्याला ३ सय ८५ रुपैंया उल्लेख गरेको छ । उद्योगीले सरकारले तोकेको ज्याला पनि उपलब्ध नगराएपछि मजदुर संघ संगठन आन्दोलित भएका हुन् । उद्योगीले हाल पुरानै ज्याला प्रदान गर्दै आएका छन् । असार भन्दा अघि चिया मजदुरको दैनिक ज्याला २ सय ७८ रुपैंयाँ थियो ।
नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया बगान मजदुर संघले चिया प्रतिष्ठान बन्द गर्ने सम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । मजदुर संगठनले सरकारले तोकेको ज्याला उपलब्ध गराउन दबाव दिने उद्देश्यले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
यसैगरी असोज ७ गते चन्द्रगढीमा प्रदर्शन गर्ने र असोज १० गतेदेखि चिया प्रतिष्ठान अनिश्चितकालिन बन्द गर्ने चेतावनी दिइएको छ । गएको भदौ २१ गते चिया उद्योगी र ट्रेड युनियनबीच सरकारले तोकेको पारिश्रमित तत्काल कार्यान्वयन गर्ने सहमति भएको भएपछि उद्योगीले हालसम्म कार्यान्वयन नगरेको आरोप अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष भुपाल सापकोटाले लगाएका छन् ।
उनले यो पटक अन्य समयको भन्दा बढी नै जाेखिम लिएर आन्दोलन शुरु गरेको बताए । ‘उहाँहरु जहिले पनि घाटा भएको मात्र सुनाउनु हुन्छ, २० वर्षदेखि लगातार घाटा हुँदा उद्योग कसरी चल्छ ?, मजदुर नेता सन्तकुमार राईले प्रश्न गर्दै भने–‘उहाँहरु नै लगातार उद्योग थप गरिरहनु भएको छ ।’
चिया उद्योगीले मजदुरलाई सरकारले तोकेको पारिश्रमिक नदिन अनेक तिकडम गर्ने गरेको आरोप उनले लगाए । मजदुर नेताले झापा, इलाम र धनकुटामा सरकारले तोकेको पारिश्रमिक उपलब्ध नभएको बताएका छन् ।
उनीहरुले कानुन कार्यान्वयनका लागि जिम्मेवार हुन उद्योगीलाई आग्रह गरेका छन् ।