पथरीशनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरमा स्थापित भएर एशियास्तरको एक्सिस ब्रोञ्जप्राप्त मनकामना सहकारी संस्थाको २१ औं चुनावी साधारणसभाबाट नयाँ कार्य समिति निर्वाचित बनेको छ ।
जिल्लाकै बढी शेयर सदस्य रहेको सो सहकारीमा निवर्तमान अध्यक्ष युवराज भट्टराई अध्यक्षमा र निवर्तमान सचिव केदारप्रसाद कोइराला सचिवमा निर्विरोध चुनिएपनि अन्य पदहरुमा चुनावी प्रतिष्पर्धा भएको थियो ।
बुधबार सम्पन्न भई विहीबार विहान आएको मत परिणाम अनुसार समिति उपाध्यक्षमा, लुमा भट्टराई खड्कालाई पराजित गर्दै माधवप्रसाद कोइराला, सहसचिवमा भरत थापालाई पराजित गर्दै विश्वमणि निरौला र कोषाध्यक्षमा विजय श्रेष्ठलाई पराजित गर्दै नोवलकिशोर खनाल निर्वाचित बनेका छन् ।
२ जना खुला सदस्यका लागि ४ प्रतिष्पर्धीमाझ प्रदिपकुमार पराजुली र रविन्द्र अधिकारी निर्वाचित भएका छन् ।३ जना महिला सदस्यमा, भौमकुमारी थापा, कविता श्रेष्ठ र कुलमाया तिम्सिना भण्डारी निर्विरोध रुपमा चुनिएका छन् ।
आदिवासी जनजाति तथा दलितका तर्फबाट मुनाकुमारी गुरुङ पनि निर्विरोध चुनिएको निर्वाचन समिति संयोजक कृष्णबहादुर कार्कीले जनाए । निर्विरोध लेखा समितिको संयोजकमा निर्वतमान संयोजक केशवप्रसाद दहालका साथै सदस्यमा, डिल्लीराम बराल र विष्णुमाया पौडेल चुनिइसकेका छन् ।
०५४ सालमा स्थापना भएको सो सहकारीमा हाल ५ हजार ४ सय ५५ जना शेयर सदस्य रहेका छन् । संस्थाले पछिल्लो १ वर्षमा खर्च कटाएर १ करोड ५१ लाख ७३ हजार ८ सय ६१ रुपैयाँ आम्दामी गरेको प्रतिवेदनमा उल्लेख छ ।
कर योग्य रकम छुट्याएर शुद्ध वचतका रुपमा ६१ लाख ४ हजार ४ सय ४४ रुपैयाँ रहेको छ । जसलाई विभिन्न कोषमा वाँडफाँड समेत गरिएको छ ।
संस्थामा हालसम्म २१ करोड २८ लाख २४ हजार रुपैयाँ वचत संकलन भएकोमा चालु आर्थिक वर्षमा २६ प्रतिशतले बृद्धि गरी २६ करोड ७५ लाख ४५ हजार पुर्याउने तथा ३ करोड १७ लाख ८९ हजार रुपैयाँ शेयर पूँजी रहेकोमा २१ प्रतिशतले बृद्धि गरी ३ करोड ८४ लाख ८२ हजार पुर्याउने लक्ष्य अघि सारेको छ ।
उता, सोही नगरको आरती सहकारी संस्थाको १७ औं साधारणसभाबाट अध्यक्षमा यादवचन्द्र दुलाल निर्वाचित भएका छन् ।