उदयपुर/ उदयपुरमा उन्नत जातको केरा खेती शुरु गरिएको छ । त्रियुगा नगरपालिका–१६ का विभिन्न बस्तीमा उन्नत जातका केरा खेती थालिएको हो ।
कृषिमा आत्मनिर्भर बनाउन गत आर्थिक वर्षमा वडाका विभिन्न ठाउँमा १७ सय बोट ‘झापाली मालभुक नामक’ उन्नत जातका केराको विरुवा वितरण गरेको त्रियुगा नगरपालिका वडा नं १६ का वडा अध्यक्ष मानबहादुर राईले बताए ।
वडाले बजेट विनियोजन गर्दा विशेष कृषिलाई नै महत्व दिने गरेकाले बढी कृषिमै बजेट विनियोजन हुने गरेको राईले बताए ।
ढुसीबाट उत्पादन भएको केराको विरुवा विरगञ्जबाट ल्याइएको थियो भने विरुवा रोपेको एक वर्षमा फल दिन थाल्ने कृषि प्राविधिक सोम दनुवारले बताए ।
नपत्याउँदो सानो विरुवा रोपेको दुई महिनामा ४ फिटसम्मको भएपछि खुसीसँगै अचम्ममा परेकोे कृषक मदनबहादुर राउतले बताए ।
केराले विरुवाजस्तै फलदिने हो भने घरमै बसीबसी आम्दानी गर्न सकिने र केरा खेतीबाट गाउँ आत्मनिर्भर हुने राउतले बताए ।
केराको मूल गानामा तीनभन्दा बढी सहायक गानाहरू छोड्न नमिल्ने र निकालिएका गानालाई अर्को ठाउँमा रोप्न मिल्ने भएकाले सहज रूपमा केरा खेती गर्न सकिने दनुवारले बताए ।