पाँचथर/ पत्रकार बिमला ढकाल र नरेन्द्र रिमाल शुक्रबार पुरस्कृत भएका छन् ।

नेपाल प्रेस युनियन पाँचथरले हरेक वर्ष वितरण गर्दै आएको देउमान केरुङ स्मृति पत्रकारिता पुरस्कारबाट ढकाल पुरस्कृत भएका हुन् ।

त्यस्तै लोकमन स्मृति पत्रकारिता पुरस्कारबाट रिमाल पुरस्कृत भए । सम्मान पत्र सहित जनही दश हजार रुपैंयाँ राशीको दुबै पुरस्कार नेपाल प्रेस युनियन पाँचथरको पाँचौं अधिवेशनको अवसर पारेर वितरण गरिएको हो ।

उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले वितरण गरे ।

सोही अवसरमा नेपाल प्रेस युनियन पाँचथरका संस्थापक अध्यक्ष श्यामबिक्रम पराजुलीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यसैबीच प्रेस युनियन पाँचथरको पाँचौं जिल्ला अधिवेशन शुक्रबार सुरु भएको छ । युनियनका केन्द्रीय प्रतिनिधि सोमनाथ सुसेलीको उपस्थितिमा सुरु भएको अधिवेशनले शुक्रबार राती नै नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।