इलाम । इलाम  जिल्लामा बढ्दै गएका विभिन्न हिंसालाई न्यूनीकरण गर्नका लागि सम्बन्धित पक्षले जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । जिल्लामा पछिल्लो समय बालिका बलात्कार, यौन दुव्र्यवहार बढ्दै गएकाले महिला बालबालिकामा दैनिक जनजीवनका काममा कष्टकर भएको भन्दै सम्बन्धित पक्षले यसमा चासो देखाउनुपर्ने बताएका छन् । अनेरास्ववियूकी जिल्ला सदस्य सम्झना राईले पहिलाका तुलनामा जिल्लामा यौन जन्य हिंसा बढेको र इलाममा ‘पार्ट टाइम’ काम नभएकाले पठ्न आउने विद्यार्थी अध्ययन आधा नै छाडेर विकल्प खोज्नु पर्ने गुनासो पोखिन् । ‘कतिपय परिवारमा आर्थिक समस्या हुन्छ । त्यही भएर कतिपय विद्यार्थी पार्ट टाइम जब गर्न चाहन्छन् । तर, जिल्लामा त्यस्तो अवसर नपाएकाले कतिपय विद्यार्थी विदेसिन्छन्. भने कतिपय घर गएर काम गर्छन्’ उनले थपिन्,‘त्यसैले जिल्लामा पार्ट टाइम जवको व्यवस्था हुनुपर्छ’ । यस्तै अर्की विद्यार्थी निलम राईले इलाममा सामाजिक काम गर्दा स्वयम् सेविकाको भूमिका निर्वाह गर्दा ‘आफूले अश्लिन शव्द’ समेतको समस्या भोग्नु परेको गुनासो पोखिन् । नगर युवा परिषद्ले इलाम सदरमुकामा आयोजना गरेको नगर युवा परिषद् इलाम नगरपालिका सरोकारवालाहरुसँगको छलफल र सुझाव संकलन कार्यक्रमका वक्ताले यस्तो बताएका हुन् । इलाम नगरपालिकाभित्र रहेका युवाको अवस्था बुझ्नका लागि नगरमा रहेका युवाको सही तथ्याकं संकलन गर्नुपर्ने समेत जानकारी गराइएको छ । युवाको संख्या संकलन गर्नुपर्ने, रोजगारीको अवस्था र युवाको समस्याका बारेमा तथ्याङ्क संकलन गर्न नगर युवा परिषद्लाई आग्रह गरेका थिए । कार्यक्रममा जनजाति महासंघका मानबहादुर गुरुङले परिषद्मा आएको बजेटले शीघ्र रुपमा युवाको सीप तथा क्षमता अभिवृद्धिमा लगाउन आग्रह गरे । यस्तै गुरुङले बजेटको सदुपयोग गर्दै युवाहरुलाई परनिर्भरबाट आत्मनिर्भर बनाउनका लागि नगर परिषदले जोड दिनुपर्ने बताए । यस्तै युवा परिषद सदस्य अन्वेष थुलुङ राईले कामको वर्गीकरण गरी कामको सम्मान गर्ने बानीको विकास गर्नुपर्ने बताए । यस्तै उनले जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयमा दक्ष जनशक्तिको अभाव भएको र दक्ष जनशक्ति विदेश पलायन हुनुपर्ने बाध्यता रहेको बताए । क्वीन इलामका संयोजक प्रशान्त गिरीले जिल्लामा विद्यार्थीको परिचय पत्र केवल विद्यालय र क्याम्पस प्रवेशका लागि मात्र नभइ अन्य प्रयोजनमा समेत प्रयोग हुनुपर्ने बताए । मानव अधिकार मञ्च नेपालका सहजकर्ता मनकुमार बराइलीले नगरपालिकाले बनाएका विषयगत समिति बीच समन्वय आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला युवा समितिका अध्यक्ष नवराज शंकरले आएको प्रश्नको जवाफ दिदै देशको नृेतृत्व युवा पङ्तिले गर्नुपर्ने र समय सापेक्ष कार्यक्रमहरु गर्दै जानुपर्ने बताए । शंकरले विगतमा युवाले गरेका काम भन्दा पृथक र फरक तरिकाले काम गर्नुपर्ने र विगतको तुलनामा नगरको क्षेत्र समेत बढेकाले सबै जाति, सबै धर्म सबै मानिसको प्रतिनिधित्व हुने गरी काम गर्नुपर्ने बताए । उनले जिल्ला युवा समितिले नगरले गरेका काममा साथ सहयोग र सहकार्य गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रमको अध्यक्षता इलाम नगरपालिका नगर युवा समितिका अध्यक्ष सचिनजङ्ग रायमाझीको अध्यक्षतामा भएको थियो ।