बिर्तामोड/ झापाको शिवसताक्षी नगरपालिकामा रहेको सताक्षीधाममा पहिलो पटक विजुली पुगेको छ । सतासीधाम मन्दिर विकास समितिले धामलाई पूर्वको धार्मिक तथा पर्यटकीय स्थलको विकास गर्दै लाने उदेश्यले बिद्युत विस्तार गरेकोे हो ।

चर्चित धार्मिक तथा पर्यटकीय स्थल भएपनि धाम परिसरमा हालसम्म बिद्युत पुगेको थिएन । समितिले आइतबार धाम परिसरमा बिद्युत उद्घाटन कार्यक्रमको आयोजना गरी कुल ३१ लाखको लागतमा सतासीधामसम्म विद्युत पुर्याएको जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य एलपी साँवा, प्रदेशसभा सदस्य झलकसिंह दर्लामी, हिराकुमार थापा, शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले सामुहिक रुपमा स्विच अन गरेर बिद्युत उद्घाटन गरेका थिए ।

उनीहरुले दुई फेस बिद्युत जोडेर मन्दिरमा राखिएको चारवटा स्विच थिचेर उद्घाटन गरेका थिए । सो क्षेत्रमा साढे चार किलोमिटर बिद्युत विस्तार भएको हो । कार्यक्रममा नगर प्रमुख शेर्माले सो धामको प्रचारप्रसारको कमि भएको बताए ।

उनले नगरको मात्र प्रयासले विकास सम्भव नहुने भएकाले प्रदेश र केन्द्र सरकारले पनि सहयोय गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख अतिथि साँवा, प्रदेशसभा सदस्य दर्लामी र थापाले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्युत प्राधिकरण दमकका राजिव सिंह, जितेन्द्र यादव, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, नगर उपप्रमुख भोजकुमारी नेपाललगायतको उपस्थिति रहेको थियो ।