पाँचथर/ पाँचथरको कुम्मायक गाउँपालिकाले बढ्दै गईरहेको बजारीकरणलाई व्यवस्थित गर्न मापदण्ड तयार गरेको छ ।
गाउँपालिका कार्यालयमा जनप्रतिनिधिको बैठकले बस्ती विकास तथा भवन निर्माण मापदण्ड निर्माण गरेको कुम्मायक गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत कोमलप्रसाद भटराईले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ मा उल्लेख भए अनुसार कार्यालयको बोर्ड बैठकले यस्तो नियम लागु गरेको भटराईले बताए ।
उनका अनुसार बजार क्षेत्रमा घर तथा भवन लगायतका संरचनाहरु निर्माण गर्दा गाउँपालिका कार्यालयबाट नक्सा पास गरेर निर्माण गर्नुपर्ने व्यवस्था लागु गरिएको छ ।
कुनै पनि संरचना निर्माण गर्दा सडकको क्षेत्रधिकार र सेटब्याक छाडेर मात्र निर्माण गर्न मापदण्ड तयार भएको छ । यसलाई कार्यालयले कडाईका साथ लागुगर्छ ।
गाउँपालिकाको केन्द्र यासोक बजारमा अव्यवस्थित शहरीकरणले बजारलाई ठुलो समस्या देखा परेको भन्दै भवन निर्माण गर्दै आएका व्यवसाहीहरुलाई मापदण्डको दायरामा ल्याएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।
बजार र नाली व्यवस्थापनको काम अघि बढिरहेको अवस्थामा मापदण्ड अनुसार घर भवन नहुदा भौतिक संरचना नै धरापमा पर्ने भएकाले यो मापदण्ड लागु गरिएको चेम्जोङको भनाई छ ।