पथरीशनिश्चरे/मोरङको पथरी शनिश्चरे नगरको प्रमुख समस्या मध्येको डाँस खोलाको कटानलाई रोक्न व्यवस्थित तटबन्धका लागि स्थानीयवासीले माग गरेका छन् ।

नगरको वडा नम्वर १०, ९, ६ र ८ छोएर बग्ने डाँसखोलाको व्यवस्थ्ति तटबन्धको सवाल उठाउँदै गठित ‘डाँस खोला कटान व्यवस्थापन समन्वय समिति’ले नगर प्रमुख दिलिपकुमार राई समक्ष ७ बुँदे मागपत्र पेश गरेको छ ।

समिति संयोजक फडिन्द्र कार्की र सचिव सुकबहादुर लिम्बूद्धारा हस्ताक्षरित मागपत्रमा, नगरपालिकाले व्यवस्थित तटवन्धका लागि वर्षेनी बजेट विनियोजन गर्नुपर्ने र सरकारका माथिल्ला निकायमा पनि बजेटको पहल गर्नुपर्ने उल्लेख छ ।

डाँसखोलाबाट ढुंगा, गिट्टी र बालुवा निकासी ठेक्काको रकम सो क्षेत्रको तटबन्ध सहितका जोखिममा लगाउनु पर्ने, अग्लिएको खोला क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवा निकाल्नु पर्ने मागपत्रमा उल्लेख गरिएको छ । कटानबाट विस्थापितहरुको क्षतिको अनुगमन गरी सोही अनुरुप तटबन्ध कार्यक्रम सञ्चालन, तटबन्धका लागि उपभोक्तामार्फत काम हुनुपर्ने सहितका माग प्रस्तुत गरिएको छ ।

मागपत्र बुझ्दै नगरप्रमुख राईले डाँसखोला कटान रोक्न तटबन्धका लागि नगरपालिकाले बजेट विनियोजन गर्दै आएको र थप पहल गरिरहने जनाए । नगरपालिकाले यो वर्ष नगरस्तरिय योजना अन्तर्गत डाँसखोला तटबन्धमा १ करोड रुपैयाँ विनियोजन गरेको छ ।