भद्रपुर/ भान्जी बलात्कार गरेको आरोपमा मामा पक्राउ भद्रपुर नातामा भान्जी पर्ने चार वर्षिया बालिका बलात्कार गरेको आरोपमा गएराती हल्दिबारी गाउँपालिका –३ जलथलका २१ वर्षीय युवक पक्राउ परेका छन । सोही वडाकी बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवैजनाको घरसँगै रहेकाले आरोपितको नाम नखुलाइएको जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार आइतबार दिउँसो छिमेकी बालिकालाई ती युवकले साइकलमा घुमाउन लगेका थिए । चिनजानको नाताले मामा भान्जी साइनो परेकोले सोही नाताको फाइदा उठाउँदै घुम्न गएको मौका छोपी युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ । घर पुगेपछि बालिकाको योनीमा रगत देखेपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजानिक भएको थियो । उजुरी पछि आइतबार राति युवकलाई पक्राउ गरिएको डिएसपी बस्नेतले बताए । पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।