भद्रपुर । नक्कली भ्याट बिल(मूल्य अभिबृद्धिकर) प्रयोग गरी अबैध कारोबारको आरोपमा सुनसरी अदालतमा मुद्दा परेका मध्ये दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा भद्रपुर–५ का अन्दाजी ३५ वर्षिय पप्पु भनिने सुव्रोत घोष र भद्रपुर–६ का अन्दाजी २८ वर्षिय सलमान भनिने महोमद युवराम मियाँलाइ पक्राउ गरिएको जिल्लाका डिएसपी जितेन्द्र कुमार बस्नेतले जनाए । डिएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले मङ्गलबार विहान भद्रपुरबाट पक्राउ गरेको उनले जनाए ।

फरार रहेका सञ्जीब कुमार घोषको घर खानतलासी गर्दा नभेटिएपछि पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । सञ्जीब शिव स्टोरका सञ्चालक हुन भने पप्पु र सलमान उनका सहयोगी भएको प्रहरीले जनाएको छ । राजस्व छलीको मुद्दामा सुनसरी अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनिहरुलाइ नियन्त्रणमा लिएको एसपी भीमप्रसाद ढकालले जनाए । तस्करी गर्ने घोष लगायत अन्य दोषीलाइ कानुनी दायरामा ल्याउन प्रहरी अघि बढिसकेको एसपी ढकालको भनाइ छ । पक्राउ परेकालाइ आवश्यक पकृया पुर्याएर सुनसरी पठाइएको उनले जानकारी दिए ।

केही दिन अघि घोषले सञ्चालन गरेको शिव स्टोरको गोदाम र अजय कानूले सञ्चालनमा ल्याएको वजरङ्वली अर्डर एण्ड सप्लार्यसमा राजस्व अनुसन्धान इटहरीले दुइदिन लगाएर सामान गन्ती गरी कागजपत्र नियन्त्रणमा लिएको अनुसन्धान अधिकृत रमेश रेग्मीले जानकारी दिएका थिए । गोदाममा भन्सार छलेर कपडा राखिएको सूचनाको आधारमा छापा मारिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीले साउन १२ गते घोषका दुई सहयोगीलाई कुर्था सुरुवाल बोकेकोे मे १ च ३०४९ नम्बरको सेतो रङको मारुती भ्यानमा भन्सार तथा राजस्व छलीका कपडाहरु इटहरी बसपार्कमा बरामद गरेको थियो । अबैध कपडा राजश्व अनुसन्धान पूर्वाञ्ञल क्षेत्रिय कार्यालय इटहरीमा प्रहरीले बुझाएको थियो । अनुसन्धानको क्रममा घोषको नाम आएपछि राजस्व कार्यालयले व्यापारी घोषलाई सोही महिनाको १४ गते पक्राउ गरेको थियो ।

घोषले एउँटै नम्बरका भ्याट बिल ५ वटा सम्म बनाएको फेला परेको कार्यालयले जनाएको थियो । घोषले १ करोड ४२ लाख र अन्य दुइजनाले साढे सात लाखको दरले प्रारम्भिक अनुसन्धानको क्रममा १ करोड ५७ लाख धरौटी रकम बुझाउन नसकेछि राजस्व अनुसन्धान कार्यालयले उनिहरुलाई पुर्पक्षको लागि साउन २२ गते सुनसरी स्थित पुर्वाञ्चल क्षेत्रीय कारागार झुम्का पठाएको थियो । पक्राउ परेपछि सुनसरी अदालतबाट पहिलो पटक सात दिन र दोस्रोपटक पन्ध्र दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धान पछि साउनमा मियाँले साढे सात लाख र भदौ १ गते सञ्जीबले १ करोड ४२ लाखको वैङ्क धरौटी बुझाएर छुटेका थिए । लामो समय देखि कपडाको कारोबार गर्दै आएका घोषले भन्सार छली बारम्बार अबैध लत्ताकपडा भित्राउँने र अबैध रुपमा भ्याट समेत छली गरेको उनिमाथि आरोप छ । भद्रपुर भन्सार तथा सुनसरीको सीमा क्षेत्रबाट उनले अबैध सामाग्री भित्र्याउने गरेको भन्दै प्रहरीले उनी बिरुद्ध निगरानी बढाउन थालेको थियो ।