धरान/ पारिवारिक मूल्यमान्यता र असल संस्कारलाई बढावा दिने अभिप्रायले युनिभर्सल पिस फेडेरेशन नेपाल र अन्तर्राष्ट्रिय सांसद् मञ्चले सोमबार विराटनगरमा प्रदेश १ स्तरीय सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । उनले प्रदेशले अव चाडै नाम र राजधानी पाउने बताए । सम्मेलनमा प्रदेश १ का महानगरपालिका, उपमहानगर, नगरपालिका, र गाउँपालिकाका प्रमुख, उपप्रमुखहरूको उपस्थिति थियो । कार्यक्रममा नेपाल वार एसोसिएसन नेपालका पूर्वउपाध्यक्ष संविधानविद् अधिवक्ता टिकाराम भट्टराईले संविधान र नयाँ कानून कार्यान्वयनबारे कार्यपत्र पेश गरे भने अर्थशास्त्रविद् प्रा.डा. चन्द्रमणि अधिकारीले नगरापलिका, गाउँपालिकाले कुन किसिमको विकासको नमूना अभ्यास गर्ने भन्ने विषयबारे कार्यपत्र पेश गरे ।
जनप्रतिनिधिहरूले नेतृत्व विकास तथा क्षमता अभिवृद्धि र विवाह साथै पारिवारिक सम्बन्धलाई कसरी सुमधुर बनाउने भन्ने विषयमा फेडेरेशन एसिया प्यासिफिकका शिक्षा निर्देशक डा. रोवर्ट एस किटेलले कार्यपत्र प्रस्तुत गरेका थिए । इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले सम्मेलनमा बाँडिएको ज्ञानले स्थानीय निकायमा काम गर्न सहज बनाएको बताए ।
फेडेरेशन नेपालका महासचिव विनोद डाँगीले सम्मेलनले सहभागी जनप्रतिनिधिलाई संविधान कार्यान्वयनको अवस्था र आफ्नो क्षेत्रको विकास कार्यमा सफलता प्राप्त गर्न सहयोग पुग्ने बताए । सम्मेलनमा विश्वव्यापी रूपमा मानवजातिले भोग्नु परेका गम्भीर चुनौतीको समाधानबारे छलफल समेत गरिएको प्रदेश १ कार्यक्रम संयोजक अशोककुमार चौधरीले बताए । फेडेरेशनका राष्ट्रिय संयोजक तथा अन्तर्राष्ट्रिय सांसद् मञ्च नेपालका महासचिव सांसद् मिलनकुमारी राजवंशीले विश्वभर रहेका नगरपालिकाहरूको विकासको मोडललाई सहकार्यको माध्यमबाट साटासाट गर्नका लागि नगर प्रमुखहरूको अन्तर्राष्ट्रिय संस्था स्थापना गर्नुपर्ने बताइन् । प्रदेश स्तरीय कार्यक्रम अन्य प्रदेशमा पनि गर्ने तयारी रहेको सम्मेलन आयोजक समिति सदस्य रामबहादुर लिम्बूले बताए । कार्यक्रम सफलताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको शुभकामना सन्देश सञ्चालक सञ्चारकर्मी रामप्रसाद खरेल र सामाजिक अभियन्ता शान्ति पाख्रिनले पढेर सुनाएका थिए ।