भद्रपुर । वडा प्रहरी कार्यालय भद्रपुरले अनुमानित दशलाख मूल्य बरावरको कपडा र गाडी नियन्त्रणमा लिएको छ । भन्सारबाट सोमबार साढे पाँच बजे निस्केको गाडी र कपडालाइ भद्रपुर–५ स्थित देउराली होटल छेउमा रहेको सूर्य अर्डर एण्ड सप्लार्यसको गोदाममा राख्दै गरेको सामग्री प्रहरीले ५ बजेर ५१ मिनटमा नियन्त्रणमा लिएको हो । भन्सारबाट निस्केको मे.१ ज २०२९ नम्बरको पिकअप गाडीमा रहेको १३ पोका र अर्को मे.१ ज १७२० नम्बरको गाडीमा १० पोका विभिन्न प्रकारका कपडामध्ये ५ पोका प्रज्ञापन पत्र भन्दा बढी भएको सूचना आएपछि गाडीसहित १३ पोका सामान नियन्त्रणमा लिइएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले जानकारी दिए ।

अर्को गाडीमा रहेको १० पोका सामान भने फेला नपरेको उनको भनाइ छ । भन्सारबाट साढे पाँच बजे बाहिरीएको गाडीमध्ये मे.१ ज १७२० नम्बरको गाडी भने केहीवेरमा नै अनलोड भएर भन्सार आउदै गरेको उनको भनाइ छ । नियन्त्रणमा लिएको गाडीको सामान भने सूर्य अडर एण्ड सप्लायर्सको कर बिजकबाट क्रेता शाह कपडा पसल विर्तामोड,पूजा इन्टरप्रइजेज इटहरी र दुर्गा भवानी स्टोर विर्तामोडमा पठाउने उल्लेख गरिएको छ । सामान भद्रपुरका केही व्यापारीको रहेको बुझिएको छ । नियन्त्रणमा लिएको गाडीमा व्यापारीले प्रज्ञापन पत्र देखाउन नसकेपछि वडा प्रहरी कार्यालयमा ल्याइएको उनले बताए । केहीबेरपछि भ्याट बिल ल्याएपनि शङ्कास्पद रहेको उनले बताए । बरामद गरिएको कपडामा सुटिङ्,भारजिन, तन्ना लगायतको सामग्री रहेको प्रहरीले जनाएको छ । राजस्व काटेको भन्दा बढी सामान गाडीमा रहेको भन्ने सूचनाको आधारमा गाडीसहित कपडा नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले बताए । सत्य तथ्य पत्ता लगाउनको लागि मङ्गलबार इटहरी स्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको एसपी ढकालले जानकारी दिए । जाँचपास भैसकेको सामानमा कामदारको अनभिज्ञताले ५ पोका गाडीमा हालेको भन्सारका नायव सुब्बा प्रकाश धिमालले स्वीकारे ।

अन्तिममा शङ्का लागेर पुनः जाँचगर्दा सामान बढी फेलापरेपछि कामदारले नबुझेर गाडीमा हालेकका कारण सामान झारेको उनले बताए । सामान एकै स्थानमा भएकोले मिसमास भएको मात्र हो व्यापारीको नियत खराब नभएको उनले दाबी गरे । भन्सारमा न्यून बिल बिजक प्रयोग गरी सामान लैजाने, प्रज्ञापन पत्र काटिसकेपछि पनि गाडी भन्सारमा नै राख्ने,राजस्व तिरेको पोकासँगै अर्को पोका गाडीमा राख्ने ,सामान अनुसारको राजस्व नकाटने लगायतको हर्कत भन्सारमा चल्दै आएको छ । चाडपर्व नजिक आएसँगै दायाँवायाँबाट भन्दा भन्सारमा ‘सेटिङ् ’मिलाएपछि सामान सुरक्षित हुने व्यापारीको बुझाइ छ । भन्सारमा सहज भइसकेपछि पछिल्लो समय अन्य नाकाहरुमा तस्करी कम भएको छ । भन्सार कर्मचारी र व्यापारीको आन्तरिक साँठगाँठमा मनोमानी ढङ्गले कामलाइ जारी राखेका छन् । भन्सारसँग कुरा नमिलेमा कारोबारीले झापा भन्दा वाहिरी जिल्लाबाट तस्करी गर्ने गरेका कयौं घटनाहरुबाट पुष्टि भइसकेको छ ।