विराटनगर । १ नम्बर प्रदेश प्रहरीले नजिकिदै गरेको बडादशैं,दिपावली तथा छठ पर्वलाई लक्षित गरि सुरक्षा योजना सार्वजानिक गरेको छ ।

चाडपर्वमा प्रदेशको १४ वटै जिल्लामा हुनसक्ने सम्भावित अपराधिक र उच्छृङ्खल क्रियाकलापहरु नियन्त्रण गर्न प्रदेश प्रहरी सुरक्षा योजना सार्वजानिक गरेको हो ।

चाडपर्वमा लामो र छोटो दुरीका भाडाका सवारी साधनहरूले यात्रुसँग बढी पैसा असूल गर्ने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता कार्य हुन नदिन प्रहरीले चेकिङ्गलाई कडाइ पार्ने भएको छ । त्यस्तै गुण्डागर्दीमा संलग्न तथा अपराधिक पृष्ठभूमी भएका व्यक्तिहरु माथि गोप्य रुपमा निगरानी बढाइने, सर्व साधारणहरूले बैंक तथा वित्तीय संस्थाहरूबाट रकम झिक्ने, सरसामान किनमेल स्थानहरुमा हुन सक्ने चोरी, लुटपाट, डकैती जस्ता घटनाहरू हुन गर्न नदिन निगरानी कडाइ पर्ने प्रदेश प्रहरीले जनाएको छ । त्यसैगरि खाली घरहरुको सुरक्षा व्यवस्था मिलाउन सादा पोशाकमा प्रहरी खटाउनुका साथै गस्तीको व्यवस्था मिलाउने प्रहरीले जनाएको छ ।

चाड पर्व लक्षित ग्रामिण गस्ती, सीमा गस्ती, राजमार्गमा समेत प्रहरीले सुरक्षा प्रदान गर्ने भएको छ । सुरक्षा व्यवस्थालाई मजदुत पार्न शहर तथा गाउँका भित्री एरियामा सादा पोशाकमा प्रहरी परिचालन गरिने प्रदेश प्रहरीले जनाएको छ ।