धरान/ प्रदेश १ को राजधानी कहाँ राख्ने भन्ने मुद्धा पेचिलो बन्दै गएको छ । राजधानीका लागि नागरिकसमेत विभक्त भएका छन् ।

सांसद्हरू नै फरक–फरक कित्तामा उभिएपछि अहिले राजधानीको मुद्धाले प्रदेशका जनता नै दुई कित्तामा बाडिदै छन् ।

विराटनगरवासीको माग विराटनगरमै स्थायी राजधानी हुनुपर्छ भन्ने तर्क गरिरहेका छन् भने विराटनगर इतरवासी भने अन्यत्र नै राजधानी हुनुपर्छ भन्ने कित्तामा उभिएका छन् ।

जसले गर्दा राजधानीको मुद्धा थप पेचिलो बनेको हो । अस्थायी राजधानी रहेको विराटगरमा उद्योगी, व्यापारी, तथा सर्वसाधारण नै स्थायी राजधानी विराटनगर नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

यता यस्तै प्रकृतिको निर्णय गर्न इटहरी पनि बाध्य छ । इटहरीवासीले पनि राजधानी इटहरी राख्नुपर्ने आवाज उठाउँदै आइरहेका छन् ।

अहिले सामाजिक सञ्जालमा पनि राजधानीका विषय तीव्र इटहरी, धनकुटा, धरान, गोठगाउँ, विराटनगर हुनुपर्ने आवाजहरू उठ्न थालेका छन् ।

विराटनगरमा उद्योग संगठन मोरङ र मोरङ व्यापार सङ्घले राजधानीका विषयमा व्यापक रूपमा छलफल नै शुरु गरिसकेको छ ।

भेलामा राजधानीको उपयुक्त स्थानको सुझाव माग गरिएको थियो । नेपाली काग्रेसका बरिष्ठ नेता एंव केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीले स्याथी राजधानी विराटनगरलाई नै बनाउनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

उनले संस्थागत धारणा सार्वजनिक गर्दै भने, ‘विराटनगरको ऐतिहासिक पृष्ठभूमि राजधानी बनाउनु न्यायोचित हुन्छ ।’ नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले पार्टी र संसदीय दलमा छलफल नभएकाले अहिले नै धेरै उछाल्न नहुने तर्क गरेका थिए ।

मोरङबाट प्रदेश सभामा प्रतिनिधित्व गरेकी नेकपाकी सांसद यसोधा अधिकारीले विराटनगरलाई प्रदेशको राजधानी बनाउदा सन्तुलित र व्यवहारिक हुने जिकिर गरिन् ।

यता इटहरीवासी भने इटहरीमा राजधानी बनाउनुपर्ने तर्क अघि सार्दै आएका छन् । सीमा सुरक्षालगायतका विषयलाई उठान गर्दै इटहरीलाई राजधानी तोक्नुपर्ने माग गरेका छन् ।

सयुक्त भूपू सैनिक सङ्घका प्रदेश अध्यक्ष किशोरकुमार राईले इटहरीलाई प्रदेशको राजधानी बनाउनुको बिकल्प नरहेको दावी गरे ।

इटहरीका नेकपाका युवा नेता सचिन नेपालले प्रदेशको राजधानी इटहरी भन्दा अन्य शहर उपयुक्त नहुने दावी छ । इटहरी १४ जिल्लालाई नै समेट्न सक्ने भएकाले राजधानी इटहरीलाई नै बनाउनु पर्ने माग गरे ।

तरुण दलका सुनसरी सचिव तथा युवा नेता मिलन त्रितालले प्रशस्त सरकारी जमिन, यथेष्ट भौतिक पुर्वाधार र सुरक्षाको हिसावले समेत अत्यन्त इटहरी सुरक्षित रहेको दावी गरे ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले केही समयअघिको सभामा प्रदेश १ को राजधानी इटहरी बनाउन उपयुक्त हुने धारणा सार्वजनिक गरेका थिए ।

यसका लागि उद्योग वाणिज्य सङ्घले १० कठ्ठा क्षेत्रफलमा निर्माण भएको ५ करोडको लागतमा निर्मित भवन प्रदेश सभालाई दिने तयारी नै गरेको छ ।

उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शैलेश विष्टले प्रदेश सरकारको लागी भवन दिन तयार रहेको दावी गरे ।

यता धरानमा पनि सामाजिक सञ्जालमार्फत् धरान हुनुपर्ने माग उठ्न थालेको छ । नेकपा धरानले सामाजिक सञ्जाल मार्फत प्रदेश सांसदहरुलाई सन्देश पठाउने (म्यासेज गर्ने) काम गरेको छ ।

‘माननिय ज्यू, सबै सम्भावनाको आधारले एक नं. प्रदेशको केन्द्र धरानलाई राजधानी बनाउन हार्दिक अनुरोध गर्दछौं ।

नेकपा धरान’ उल्लेख गरिएको म्यासेस सबै प्रदेश सांसदलाई फेसबुक तथा ट्वीटर मार्फत आग्रह गरिएको माओवादी केन्द्रका धरान संयोजक चोत्लुङले बताएका छन् ।

यसअघि धरानलाई राजधानी घोषणाको माग गर्दै धरानमा क्रियाशिल सबै राजनीतिक दलले प्रतिवेदन तयार गरेका थिए ।

त्यसै गरी हस्ताक्षर अभियान चलाएर सो हस्ताक्षर समेत मुख्यमन्त्रीलाई बुझाइसकेको छ । ।