विराटनगर/ सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा प्रदेश सरकारले १ नम्बर प्रदेश स्तरीय सुरक्षा रणनिति बनाएको छ ।
आउँदै गरेको चाडर्पवलाई लक्षित गरि प्रदेश सरकारले सुरक्षा रणनितिक तयार पारेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा मंगलबार आयोजित प्रदेश स्तरिय सुरक्षा गोष्ठीबाट सुरक्षा योजना निर्माण गरेको गोष्ठिमा सहभागी सुरक्षा निकायका एक अधिकृतले बताए ।
पछिल्लो समय प्रदेशमा नयाँ–नयाँ प्रकृतिका अपराधिक क्रियाकलापहरु बढ्न थालेपछि सुक्ष्म रुपमा अनुसन्धान गरि त्यस्ता गतिविधी गर्नेलाई पक्राउ गर्ने पहिलो मिसन बनाएको ती अधिकृतले जानकारी दिए ।
प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा प्रदेशका मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री तथा प्रदेशका प्रवक्ता हिक्मत कार्की, १४ वटै जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका अधिकारीहरुको सहभागि थियो ।
सुरक्षा गोष्ठिमा १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ–आफनो सुरक्षा अवस्थाको बारेमा ५ मिनेटको प्रस्तुती गरेका थिए ।