[caption id="attachment_96051" align="alignnone" width="883"] फायलफाेटाे[/caption] धनकुटा/ हरेक दिनजसो सडकमा यात्रुवाहक बस होस् या अन्य जुनसुकै सवारी साधन, कागजपत्र र चालकको लाइसेन्स चेक गर्ने ट्राफिक प्रहरीले आइतबार भने सवारी साधन रोकेर चालकहरूको आँखा जाँच गरेको छ । डा.रामप्रसाद आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले सडकमै निःशुल्क आँखा शिविर सञ्चालन गरेर धनकुटा हिले सडकको सल्लेरीमा यात्रुवाहक बसलगायत अन्य सवारी साधनका १ सय १२ जना चालकहरूको आँखा जाँच गरिएको जिल्ला ट्राफिक प्रमुख सुरेन्द्र खड्काले बताए । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्रबहादुर गुरुङ र आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले आँखा जाँच गराएर कार्यक्रमको समुद्घाटन गरेका थिए । धनकुटा–६ को वडा कार्यालयको आर्थिक सहयोग तथा नेत्र ज्योति सङ्घ धनकुटाको व्यवस्थापनमा आँखा जाँच गरिएको थियो । आँखा जाँच गर्ने क्रममा अधिकांश चालकहरूको आँखामा ‘इन्फेक्सन’ भेटिएको चिकित्सकले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले चालकहरूको सुविधालाई ध्यानमा राखेर सडकमै निःशुल्क आँखा जाँच कार्यक्रम राखिएको बताए ।