उर्लाबारी/ उर्लाबारी नगरपालिकाले सोमबार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नगरका ९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

दिवसको अवसर पारेर प्रत्येक वडाका एक–एक जना जेष्ठ नागरिकलाई नगरपालिका परिसरमा आयोजित सम्मान कार्यक्रममा नगदसहित सम्मान गरिएको हो ।

सम्मानित हुने नागरिकमा वडा नं १ बाट ८९ वर्षीया बेलकुमारी श्रेष्ठ, २ बाट ९२ वर्षीय नन्दकुमार तामाङ, ३ वडा बाट ९१ वर्षीय हर्कप्रसाद भट्टराई, वडा नं ४ बाट १ सय वर्षीया लीलामाया निरौला र वडा नं ५ बाट ९१ वर्षीय नरपति बराल, ६ बाट ९३ वर्षीय पदमबहादुर सुनाम, वडा नं ७ बाट ९६ वर्षीया रत्नमाया शाक्य, वडा नं ८ बाट १ सय १ वर्षीया कुश्मी धामी थारू र वडा नं ९ बाट ९७ वर्षीय राममाया खतिवडा रहेका छन् ।

नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नगर प्रमुख फागोले केही समयपछि ज्येष्ठ नागरिकको मासिक स्वास्थ्य परीक्षणका लागि प्रत्येक वडा कार्यालयमा स्वास्थ्य शिविर सञ्चालन हुने बताए ।

ज्येष्ठ नागरिकको हक, अधिकार र स्वास्थ्यप्रति उर्लाबारी नगर सरकार जिम्मेवार रहेको उनको भनाइ थियो ।