चतरा/ वराहक्षेत्रस्थित चतरामा प्रहरीले दशैंतिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

सहायता कक्षमा यात्रुहरूले यात्राका क्रममा भोग्ने कठिनाइबारे उजुरी तथा गुनासो गर्न सक्नेछन् ।  सहायता कक्षमा यात्रुहरूको सुविधाका लागि प्रदेश प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरीका सम्पर्क नम्बर राखिएको छ ।

यातायात मजदुरहरूको जानकारीका लागि टूाफिक आदेशमुलक चिह्न तथा सूचना सामग्रीहरू राखिएको छ । चालक र सहचालकले पालना गर्नुपर्ने नियम पनि सहायता कक्षमा राखिएको छ ।

यात्रु सहायता कक्षसँगै इलाका टूाफिक प्रहरी कार्यालय चतराले यात्रुवाहक सवारी साधनका लागि भाडादरसमेत तोकेको छ ।

इलाका प्रहरी कार्यालय चतराका टूाफिक प्रहरी सहायक निरीक्षक होमप्रसाद खनालका अनुसार चतरा हुँदै विभिन्न स्थानका लागि छुट्ने छोटो, मध्यम र लामो दुरीका रुटमा भाडादर तोकिएको हो ।

प्रहरीले स्थानीय यातायात व्यवसायी तथा टेम्पो व्यवसायीहरूको सहमतिमा स्थानीय भाडादर समेत तोकेको छ ।

चाडपर्वमा सवारी आवागमन तथा टूाफिक व्यवस्थापनलाई चुस्तदुरुस्त राखी दुर्घटना हुन नदिनकै लागि जानकारीमुलक सामग्री राखिएको इलाका प्रहरी कार्यालय चतराका प्रहरी नायव निरीक्षक कमलबहादुर मिश्रले जानकारी दिए ।

दुर्घटना न्यूनीकरणका लागि वृक्षरोपण

इलाका प्रहरी कार्यालय चतराले सवारी दुर्घटना न्यूनीकरणका लागि वृक्षरोपण गरेको छ ।

इटहरी–नडाहा– चतरा हुँदै कञ्चनपुर जोड्ने मुख्य सडकका चौबाटोमा सवारी चालकले देख्ने गरी ड्रम राखेर त्यसमाथि वृक्षरोपण गरेको छ ।

तीव्र गतिमा गुडिरहेका सवारीले पनि टाढैबाट देख्ने गरी फूलका विरुवा रोपिएको टूाफिक प्रसनि खनालले बताए ।

वृक्षरोपणले सडकको सौन्दर्य बढ्ने र दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने भएकाले यस्तो उपाय अपनाएको खनालको भनाइ छ ।