धनकुटा/ धनकुटा जिल्लाको पाख्रीवास, छथरजोरपाटी र धनकुटा नगरपालिकाको सङ्गमस्थल गुराँसेमा बौद्ध विहारको शिलान्यास गरिएको छ ।

शनिबार बौद्ध परम्पराअनुसार भक्तपुर मुनि विहारका भिक्षु एवम् भन्तेगुरु अर्जुन राना मगर र विशिष्ट अतिथि पाख्रीवास नगरपालिकाका प्रमुख बिर्षबहादुर राईले संयुक्त रूपमा शिलान्यास गरे ।

नेपाल मगर बौद्ध सेवा समाज धनकुटा र पट्याकसार बौद्ध विहार विकास समिति धनकुटा–३ को संयुक्त आयोजनामा बुद्ध विहार निर्माण गर्न लागिएको हो ।

बौद्ध विहार शिलान्यासपछि भगवान् बुद्धको दर्शन र बुद्धधर्मबारे अन्तरक्रिया गरिएको छ ।

सोही अवसरमा वापा/मापा मगर समुदायको धार्मिक कार्य गर्ने लामा पुजारीहरूका लागि तीन दिने प्रशिक्षण कार्यक्रम समेत राखिएको छ ।

तीन दिने प्रशिक्षण कार्यक्रममा नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय अध्यक्ष देउबहादुर राना मगर, सह–अध्यक्ष बीबी रखाल, उपाध्यक्ष शान्त समाल, निमबहादुर राना मगर र केन्द्रीय उप–महासचिव भीमबहादुर गुर्वाछानेले सहजकीरण गरिरहेको अध्यक्ष इन्द्र लुङ्गेली मगरले बताए । प्रशिक्षण तीन दिनसम्म चल्ने छ ।

कार्यक्रममा धनकुटा, तेह्रथुम, सुनसरी, भोजपुर र सङ्खुवासभाका मगर समुदायको उल्लेख्य सहभागिता थियो ।