दमक/झापाको दमकमा कुकुरको बन्ध्याकरण शिविर शुरु गरिएको छ । सडक सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न शिविर शुरु गरिएको बताइएको छ ।
दमक नगरपालिकाले आगामी असोज २० गतेसम्म नगर आसपासमा भेटिने सडक तथा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गर्न शिविर सञ्चालन गरेको हो ।
दमक नगरपालिकाका पशु अधिकृत गणेश प्रधानले सडक सामुदायिक कुकुरको सङ्ख्या वृद्धि रोक्नका लागि अभियान थालिएको बताए ।
सडक कुकुरले समुदायमा विभिन्न समस्या सिर्जना गरेको भन्दै कुकुरहरूको बन्ध्याकण गरेको पशु अधिकृत प्रधानको भनाइ छ ।
हिमालय एनिमल्स रेस्क्यु ट्रस्ट (हार्ट) भरतपुरको प्राविधिक सहयोगमा यो शिविर थालिएको हो । ट्रस्टले भरतपुर र पोखरामा सडक सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्दै आएको छ ।
अहिले विभिन्न स्थानीय तहले समेत कुकुरको बन्ध्याकरण गर्न आग्रह गर्ने भएकाले देशै भरि बन्ध्याकरण गर्न थालिएको ट्रस्टका व्यवस्थापक चन्द्र राईले जानकारी दिए ।
दमक नगरपालिकाले सोमबार ४० वटा सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ भने २ सय भन्दा बढी कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखेको छ ।
हिमालय एनिमल ट्रस्टले सन् २०१५ देखि हालसम्म ५० हजार भन्दा बढी कुकुरको बन्ध्याकरण गरेको जनाएको छ ।