इटहरी । नजिकिँदै गरेको नेपालीहरुको महान पर्व बडादशैं र शुभदिपावलीलाई लक्षित गरेर सुनसरीको इटहरीमा यात्रु सहायता कक्ष स्थापना भएको छ । चाडपर्वको अवसरमा जिल्ला भित्रिने र बाहिरिने तथा पहाडी जिल्ला भ्रमणमा निस्कने सर्वसाधारण, पर्यटकको यात्रालाई सहज बनाउन ट्राफिक प्रहरीको पहलमा यात्रु सहायता कक्ष सञ्चालन सुरु भएको हो । एक नम्बर प्रदेशकै धेरै यात्रुहरु आवतजावत गर्ने इटहरी बसपार्कबाट आउँदो तिहार पछिसम्म सञ्चालन हुने यात्रु सहायता कक्षमार्फत यात्राका क्रममा सर्वसाधारण, यात्रुले भोग्नुपरेका समस्या तथा कठिनाइका विषयमा सहजीकरण गरिने प्रदेश एक ट्राफिक प्रहरी कार्यलयका एसपी रवि पौडेलले बताए । उनले भने दशैमा सार्वजनिक सवारीमा भिडभाड बढ्दा यात्रुहरु ठगिनु नदिन कक्ष सञ्चालनमा ल्याएको बताए । चाडपर्व र विदाको समयमा आफन्तकोमा जाने तथा विदा मनाउन निस्कने यात्रुलाई पर्नसक्ने सम्भावित समस्याको समाधानका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ । दशैं तिहारमा यात्रुको चाप बढी हुनेहुँदा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्ता घटनालाई रोक्न यात्रु सहायकता कक्ष स्थापना गरिएको एसपी पौडेलले बताए । यसैगरी यातायात व्यवसायीमाथि हुनसक्ने दुव्र्यवहार, सवारी तोडफोडबाट हुने क्षतिलाई रोक्न पनि यात्रु सहायता कक्ष स्थापना गरिएको बताइएको छ । त्यस्तै ट्राफिक तथा यातायातसम्बन्धी सूचना एवं जानकारी लिनेदिने, चाडपर्वका नाममा हुने बिकृति र अपराधको न्युनीकरणमा समेत यात्रु सहायता कक्षले सहयोग पुग्ने अपेक्षा गरिएको छ । खासगरी सर्वसाधारण तथा यात्रुको गुनासो व्यवस्थापन गर्ने उद्देश्यसहित यात्रु सहायता कक्ष उद्घाटन गदै सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । सर्वसाधरणको सहजताको लागी मनपरी खोलिएको अबैध टिकट काउण्टर बन्द गर्ने प्रजिअ उप्रेतीले दिर्नेशन दिएका छन । इटहरी हुदै दिनहुँजसो ठूलासाना गरी सयौ सवारीसाधनहरु गुड्ने गरेका छन् । सडकमा सार्वजनिक सवारी सँगै दिनहुँ बस, जिप, स्कारपिओ, बोलेरो, ट्रक, ट्याक्सी, मोटरसाईकल र ट्याक्टर गुड्दै आएका छन् । यातायात ब्यवसायी संघका नेता ध्रुब घिमिरेले भने यातायात ब्यावसायीहरुलाई सरकारले हेपाह प्रबृद्धि देखाउँदै आएको बताए । उनले भने ट्राफिक प्रहरीले पनि यातायात ब्यवसायीलाई सामान्य निहुँमा पनि दुःख दिदै आएको बताएका छन । त्यस्तै उद्योग बाणिज्य सघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेष विष्टले यात्रुहरुलाई आफ्नो गनतब्य सम्म पुग्न सहज वातावरण वनाउँनु पर्ने बताएकका थिए । यता कोशी अञ्चल यातायातका प्रमुख कृष्ण भुषालले सार्वजनिक यातायातको अनुगमन गर्ने बताएका थिए ।
लागु हदैन मापदण्ड सरकारले बस बिल्डिङ मापदण्ड २०७४ जारी गरे पनि यसको कार्यान्वयन हुन सकेको छैन । यातायात व्यवस्था विभागले गत चैत १८ गते नयाँ निर्दे्शिका जारी गर्दै यो मापदण्ड सार्वजनिक गरेको थियो । उक्त मापदण्डले दिवाबस, रात्रिबस, लामो दूरीका बस, छोटो दूरीका बस, पर्यटक बस, डिलक्स, सुपर डिलक्स तथा एसी बसमा हुनुपर्ने सिट क्षमता र अनिवार्य हुनुपर्ने सुविधाको प्रारम्भिक रुपरेखा तयार गरे पनि विभागले यस विषयमा चासो राखेको छैन । सरकारी पक्षले डिलक्स, सुपर डिलक्स र एसी बसमा हुनुपर्ने सुविधा नतोक्दा बस धनीले आफूखुसी भारतको कलकत्ता, नयाँ दिल्ली, सिलिगुडीका बजारमा बसको बडी निर्माण गरी नेपालमा ल्याएर सञ्चालन गरिरहेका छन् । बसको बडी र सुविधाको मापदण्ड सरकारले नतोक्दा यात्रुहरु ठगिँदै आएका छन ।