धनकुटा/धनकुटा–१ हिलेस्थित गुराँसे टी–स्टेट कारखानाको मूल गेटमा मजदुरहरूले बुधबार तालाबन्दी गरेका छन् । उनीहरू दुई महिनायतादेअि आन्दोलित छन् ।

अघिल्लो महिना निष्कासित गरिएका ६० जनाभन्दा बढी मजदुरले पुनर्बहालीको माग गर्दै तालाबन्दी गरेका हुन् ।

तालाबन्दीपछि मजदुरकै अर्को समूहले ताला फुटाएको छ । समन्वय नगरी तालाबन्दी गरेको भन्दै अर्को समूहले ताला फुटाएको हो । संयुक्त संघर्ष समितिको अगुवाइमा लगाएको ताला प्रहरीको उपस्थितिमा अर्को समूहले फुटाएको हो ।

मजदुर आन्दोलनका कारण गुराँस, जुन चियाबारी र नारायणी टी–स्टेट उद्योग पूर्ण रूपमा प्रभावित बनेको छ ।

तीनवटै उद्योगको प्रशासनले ठेक्का प्रणालीबाट मजदुर राख्ने निर्णय गर्दै ६० भन्दा बढी मजदुरलाई निकालेको समितिका केन्द्रीय सदस्य तथा चिया मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष नारायण तामाङले बताए ।

आन्दोलनरत पक्षले पुनर्वहाली, श्रम ऐन २०७४ कार्यान्वयन हुनुपर्ने तथा नेपाल सरकारले निर्धारण गरेको दैनिक पारिश्रमिक लागू गरिनुपर्ने माग अघि सारेका छन् ।

सरकारले गत साउन १ गतेदेखि लागू हुनेगरी चियामजदुरको साविकको दैनिक पारिश्रमिक २ सय ७८ बाट बढाएर ३ सय ८५ कायम गरेको थियो ।

सोहीअनुसार मजदुरलाई ज्याला दिनुपर्ने उनीहरूको माग छ ।

कामअनुसारको ज्याला उपलब्ध गराएर ठेक्का प्रणालीबाट काम गराउन पुराना मजदुरलाई निष्कासन गरिएको गुँरासका कारखाना प्रबन्धक नवीन कार्कीले बताए ।

तर, अखिल नेपाल चिया मजदुर सङ्घ इकाइ अध्यक्ष निर्मला तामाङले सरकारले वृद्धि गरेको तलब दिनुपर्ने बताइन् ।

कारखानामा काम गरिरहेका मजदुरसँग समन्वय समेत नगरी आन्दोलन र तालाबन्दी गर्दा आफूहरू मर्कामा परेको मजदुर नारायण कटुवालले गुनासो गरे ।

आन्दोलनका कारण उद्योगमा कार्यरत मजदुरले आफूले तलब नपाएको गुनासो गरेका छन् भने आन्दोलित पक्षलाई सहयोग नगरेको भन्दै मजदुरविरुद्ध आक्रोस पोख्ने गरेका छन् ।