भद्रपुर/तपाई पीडित हुनु भएको छ ? बारम्बार प्रहरी कार्यालयमा धाइरहनु भएको छ? तपाइलाई न्याय दिलाउन कुनै विचौलिया पछि लागेका छन्? जस्ता अनेकौ झनझटबाट मुक्त भई अब घरमा नै बसेर न्याय पाउने हुनु भएको छ ।
पीडित पक्षलाइ थप पीडाहुन नदिन जिल्ला प्रहरी कार्यालय झापाले ‘पीडितको साथी ’ कार्यक्रम सञ्चालनमा ल्याएपछि पीडितलाइ राहत मिल्ने भएको हो ।
कार्यालयले दुइदिनबाट शुरु गरेको अभियानमा बुधबार प्रहरी मातहातका ५४ जना प्रहरी कर्मचारीलाइ जिल्लाका एसपी भीमप्रसाद ढकालले तालिम दिएपछि यो अभियान कार्यान्वयनमा आएको हो ।
पछिल्लो समय पीडित पक्ष झन पीडित भएको अवस्थालाइ ध्यानमा राखेर यो कार्यक्रम सञ्चालनमा ल्याइएको एसपी ढकालले बताए ।
पीडितले बारम्बार प्रहरीमा धाउनु पर्ने बाध्यतालाइ हटाउन अभियानले सहयोग पुग्ने उनले जनाए ।
पीडामा परेको पक्ष वा व्यक्ति लाइ पायक पर्ने प्रहरी कार्यालयमा आइ निवेदन दिने वा प्रहरील सहयोग गरेपछि अभिलेख राखी प्रगतीका बारेमा टेलीफोन मार्फत जानकारी गराइने उनको भनार्इ छ ।
यो अभियानले पीडितको शारिरीक, मानसिक ,आर्थिक लगायतमा सहज हुने उनले दावी गरे ।
पीडितको साथी प्रहरी लेखिएको भोटो लगाई प्रहरी कार्यालयमा बस्ने र आउने पीडितहरुको छुट्टै अभिलेख राखि समस्या समाधानको लागि गरिएका प्रयास तथा अनुसन्धान प्रगति विवरण फोन गरी जानकारी गराउने प्रहरीको काम भएको उनले बताए ।
सुरक्षाको प्रत्याभुती दिलाई पीडितलाई न्याय पाउने कुरामा आश्वस्त पार्ने र पीडितलाई पटक-पटक कार्यालयमा धाईरहनु पर्ने वातावरणको अन्त्य गर्ने उद्देश्यले कर्मचारीलाइ तालिम दिएको उनले जनाए ।