सिरहा/ जिल्ला सिरहाको मिर्चैया नगरपालीकामा करको बिरोधमा जारी आन्दोलन नगरपालिकासंग सहमतिसंगै फिर्ता भएका छन् ।
मिर्चैया नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त संघर्ष समितिबिच बुधबार दुई बुँदे सहमति पश्चात आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् ।
नगरपालिकाका मेयर श्रवण कुमार यादब र आन्दोलनरत संयुक्त संघर्ष समितिका वार्ता समितिका संयोजक अशोक कुमार साहको संयुक्त हस्तक्षर रहेको सहमति पत्रको पहिलो बुँदामा आन्दोलनरत पक्षका सम्पुर्ण माँगहरुमा मिर्चैया नगरपालिकाले छलफल गरी कर, राजस्व, शुल्क तथा दस्तुरको सम्बन्धमा संसोधित विषय वस्तुहरुको कार्यान्वयन गर्न गराउनका लागि नगरकार्यपालिका र नगरसभामा पेश गरी नगरसभाबाट अनुमोदन गराई मंसिर ५ गतेभित्र कार्यान्वयन गरिनेछ र दोस्रो बुँदामा सर्वपक्षिय संयुक्त संघर्ष समिति मिर्चैयाले आफ्ना आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु फिर्ता गरिने उल्लेख रहेका छन् ।
समितिले साउन २९ गते कर बृद्धि फिर्ता लगायत विभिन्न ८ बुँदे माँग राख्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापन पत्रको पहलो बुँदामा रहेको हाल नगरपालिका लिईरहेको नयाँ कर, शुल्क र राजस्व पूर्ण रुपमा स्थगित गर्नुपर्ने र दोस्रो बुँदामा रहेको पुरानो कर पनि संशोधन पश्चात मात्र लागु गर्नुपर्ने बुँदाको विषयमा सहमति भएपनि नगरसभाबाट पारित गरी मंसिर ५ गते भित्र कार्यान्वयन गर्ने लिखित सहमति भएको छ ।
त्यसैगरी अन्य बुँदाहरुमा रहेको आ.व. २०७४/०७५ को वडा र नगर स्तरीय योजनाहरुको लागत ईष्टिमेट सहित मुल्यांकन विवरण उपलब्ध गराउनुपर्ने, विभिन्न निकायबाट नगरपालिकामा दाखिला भएको आम्दानीको विवरण उपलब्ध गराउनुपर्ने, कोटेशन र सडक बोर्डको कार्यको विवरण उपलब्ध गराउनुपर्ने, आन्तरिक कोषबाट नियुक्ति गरिएका कर्मचारीको विवरण उपलब्ध गराउनुपर्ने, घटना दर्ता, मृत्यू दर्ता, विबाह दर्ता, बसाईसराई निःशुल्क हुनुपर्ने लगायतका विषयमा सहमति भएको नगरपालिकाका मेयर श्रवण कुमार यादबले बताए ।
नगरपालिकासँग भएको सहमतिमा कार्यान्वयन हुनेमा आफुहरु विश्वस्त रहेको सर्वपक्षिय समितिका बार्ता समिति संयोजक अशोक कुमार साहले बताए ।
नगरपालिका र आन्दोलनरत पक्षबिच भाद्र १५ गतेदेखि असोज १७ गतेसम्म विभिन्न ७ चरणमा भएको वार्ता सहमतिसँगै टुंगिएको छ ।