राजविराज/राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाईको सरकार हरेक मोर्चामा असफल भएको आरोप लगाएका छन् ।
उनले चाडपर्व सकिएलगत्तै सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिए । बुधबार सदरमुकाम राजविराजमा राजपाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘दुई तिहाईको वर्तमान सरकारबाट जनताले धेरै आशा र आकांक्षा राखेका थिएँ ।
तर सबै आशा र आकांक्षा अहिले निराशामा परिवर्तन भएको छ ।’ संविधान संशोधन गर्ने सहमतिमा वर्तमान सरकारसँग मित्रता गाँस्दै राजपाले समर्थन दिएको चर्चा गर्दै उनले मित्रता कायम राख्ने वा तोड्ने दुबै विषय वर्तमान सरकारको नेतृत्वकर्ताको हातमा रहेको बताए ।
संविधान संशोधन गर्ने सवालमा ६ महिना बितिसक्दा पनि वर्तमान सरकारले कुनै गम्भिरता नदेखाएकोमा आक्रोश व्यक्त गरेका उनले आगामी सोमबार संविधान संशोधन, प्रतिनिधि सभा सदस्य रेशम चौधरीलाई सपथ ग्रहण, बढ्दो महंगी, हत्या हिन्सा, बलात्कार, कालोवजारी र झुठा मुद्दा फिर्ता लगायतका विषय समेटेर देशैभर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी गरिएको जानकारी दिए ।
‘त्यसपछि पनि हाम्रो माग उपर सुनुवाई नगरीए दशै तिहार र छठ पर्व सकिए लगत्तै सडक र सदन दुवै मोर्चाबाट आन्दोलन सुरु हुन्छ’ - उनको चेतावनी थियो ।
यसक्रममा उनले राजपाको राष्ट्रिय महाधिवेशन आगामी वैशाख ७, ८ र ९ गते हुने जानकारी पनि दिए ।