बिर्तामोड/ इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरी, पकेटमार र अर्काको घरमा अनाधिकृत रुपमा प्रवेश गर्ने ७ जनालाई पक्राउ गरी कारबाही शुरू गरेको छ ।

प्रहरीले ट्रक, मोटरसाइकल चोरी, बसभित्र रहेका यात्रुको नगद तथा गरगहना चोरी र चोरी गर्ने उद्देश्यले अर्काको घरभित्र प्रवेश गर्ने ७ जनालाई पक्राउ गरेको बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जनाएको छ ।

प्रहरीले पाँचथरको फिदिम नगरपालिका–३ का रोशन श्रेष्ठलाई ट्रक चोरीको अभियोगमा पक्राउ गरेको हो ।

श्रेष्ठले तीनवटा फुलबडी ट्रक चोरी गरेर बिर्तामोड, ईटहरी र बिरगञ्जसम्म लगेर कवाडीमा बिक्री गर्ने गरेको पाइएको झापाका एसपी भिमप्रसाद ढकालले जानकारी दिए ।

बिर्तामोड नगरपालिका–२ घर भई मोटरसाइकल चोरीको अभियोगमा दिवस राईलाई पक्राउ गरेको छ ।

यसैगरी दमक नगरपालिका–९ का मिलन अधिकारीलाई पकेट मारेको अभियोगमा पक्राउ गरेको छ । बसमा यात्रा गरिरहेका बिरबहादुर राईको पकेट काटेर १ हजार ४ सय ५० रुपैंयाँ चोरी गरेको अभियोगमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी कन्काई नगरपालिका–३ का बिनोदसिंह मर्डी र सिराहाको माई धनगढी नगरपालिका–९ चैनपुरका लोकबहादुर जर्घा मगरलाई पकेट मारेको अभियोगमा पक्राउ गरिएको बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले जानकारी दिए ।

पक्राउ परेका मर्डी र मगरले बसमा यात्रा गरिरहेका प्रमोद दहालको झोलाबाट ४० हजार रुपैंयाँ चोरी गरेको प्रहरीको भनाइ छ ।

यस्तै अर्काको घरमा प्रवेश गर्न खोजेको अभियोगमा झापाको गौरीगञ्ज गाउँपालिका–५ का ओमप्रकाश यादव र बिर्तामोड नगरपालिका–५ का सुरज राजबंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादव यसअघि पनि चोरी मुद्दामा पक्राउ परेर छुटेका थिए । उनीहरूलाई सीसी क्यामेराको फुटेजको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ७ जनालाई नै जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चाडपर्व नजिकिएसँगै प्रहरीले समाजमा हुने आपराधिक घटना नियन्त्रणको लागि बिशेष अभियान शुरू गरेको जनाएको छ ।