धरान/चौथो ‘स्कुल–स्कुलमा’ एकल नृत्य प्रतियोगिताको उपाधि पासाङ तामाङ र याङ्छोमा लिम्बू जितेका छन् ।

युनाइटेड डान्स एकेडेमी धरानको आयोजनामा धरानको सैनिक भवनमा सम्पन्न फाइलनमा सिनियरमा तामाङले उपाधि जित्दा जुनियरमा लिम्बूले उपाधि जितिन् ।

उपाधिसँगै तामाङले नगद ३० हजार रुपैयाँसहित नटराज ट्रफी प्राप्त गरिन् भने लिम्बूले १५ हजार रुपैयाँसहित नटराज ट्रफी पाइन् ।

सिनियरमा एसिका तामाङ दोस्रो बन्दा रिस्ता याक्खा तेस्रो बनेकी थिइन् । उनीहरूले क्रमशः नगद १५ र १० हजार रुपैयाँसहित ट्रफी पाए ।

त्यस्तै जुनियरमा सुभाना राई दोस्रो, सगुन लामिछाने तेस्रो, रिन्छेन तामाङ चौथो र नानिमा लिम्बू पाँचौं बने । दोस्रो र तेस्रोले क्रमशः ७ हजार र ५ हजार रुपैयाँसहित ट्रफी पाए ।

विजेताहरूलाई नेपाल मन्टेश्वरी एसोसिएसन धरान नगरका अध्यक्ष दीपक अग्रवाल, माउन्ट एभरेष्ट ट्रेनिङ सेन्टरका अध्यक्ष कुमार तामाङ, डान्स एकेडेमीका सञ्चालक सन्तोष तामाङले पुरस्कार वितरण गरेका थिए ।

गत जेठ ५ गतेदेखि शुरू भएको प्रतियोगितामा प्रदेश १ का विभिन्न स्कुलका ४ सय ५० विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।

फाइलन राउण्डमा जुनियरमा १६ जना र सिनियरमा १० जनाले अन्तिम स्पर्धा गरेका थिए । युकेजीदेखि कक्षा ३ सम्म जुनियर र कक्षा ४ देखि ६ सम्मलाई सिनियरमा राखिदै प्रतियोगिता गराइएको थियो ।

प्रतियोगितामा २७ वटा स्कुलका विद्यार्थीहरू सहभागी बनेका थिए ।