रङ्गेली/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसकेको बताएका छन् ।

बुधबार विराटनगरमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आयोजना गरेको प्रदेश समन्वय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारको अधिकारअनुसार सङ्घीय सरकारबाट संरचना प्राप्त गर्न नसेकेको बताए ।

उनले सङ्घीय सरकारबाट जति संरचना प्राप्त भएको छ त्यसैलाई प्रयोग गरेर बजेट कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

सङ्घीय सरकारको कारण नै स्थानीय सरकार पनि समस्यामा परेको उनको जिकिर छ ।

उनले स्थानीय तह र प्रदेश सरकारबीच भएका समस्या समाधानका लागि प्रदेश समन्वय समिति बनेको बताए ।

कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले नयाँ संरचनाअनुसार बनेको स्थानीय तह र प्रदेश सरकारबीच तालमेल हुनुपर्ने बताए ।

प्रदेश नं १ अन्तर्गत १४ जिल्लाका १ सय ३७ स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका संयोजक एवं सहसंयोजक सहभागी थिए ।

परिषद्को बैठकसम्बन्धी कार्यविधि, २०७५ को मस्यौदा, परिषद्को अधिकार क्षेत्रको विषय र आवश्यक देखिएका अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।