इटहरी/ नजिकिँदै गरेको बडादशैं र दीपावलीलाई लक्षित गरेर सुनसरीको इटहरीमा यात्रु सहायता कक्ष स्थापना भएको छ । 

चाडपर्वको अवसरमा जिल्ला भित्रिने र बाहिरिने तथा पहाडी जिल्ला भ्रमणमा निस्कने सर्वसाधारण, पर्यटकको यात्रालाई सहज बनाउन ट्राफिक प्रहरीको पहलमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।

यात्रु सहायता कक्षमार्फत् यात्राका क्रममा सर्वसाधारण, यात्रुले भोग्नुपरेका समस्या तथा कठिनाइका विषयमा सहजीकरण गरिने प्रदेश एक ट्राफिक प्रहरी कार्यालयका एसपी रवि पौडेलले बताए ।

दशैं तिहारमा यात्रुको चाप बढी हुनेहुँदा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियमको उल्लङ्घन गर्नेजस्ता घटनालाई रोक्न यात्रु सहायता कक्ष स्थापना गरिएको एसपी पौडेलले बताए ।

यसैगरी यातायात व्यवसायीमाथि हुनसक्ने द’व्र्यवहार, सवारी तोडफोडबाट हुने क्षतिलाई रोक्न पनि यात्रु सहायता कक्ष स्थापना गरिएको बताइएको छ ।

त्यस्तै ट्राफिक तथा यातायातसम्बन्धी सुचना एवम् जानकारी लिनेदिने, चाडपर्वका नाममा हुने विकृति र अपराधको न्युनीकरणमा समेत यात्रु सहायता कक्षले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यात्रु सहायता कक्ष उद्घाटन गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले मनपरी खोलिएको अवैध टिकट काउण्टर बन्द गर्ने बताए ।