धनकुटा/धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ४ स्थित डाँडाखर्कका चार घरमा बुधबार आगोलागी हुँदा लाखौंको क्षति भएको छ ।

स्थानीय ज्ञानबहादुर मगरको घरमा विद्युत सर्ट भएर लागेको आगोले छिमेकमा रहेका अन्य घरमा सल्किएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ज्ञानबहादुर मगर सहित कमलादेवी खड्का, रिपुमर्दन राई र कालुमान राईको घरमा क्षति पुगेको छ । बिहान करिब साढे ११ बजे भएको आगो स्थानीयबासी र सुरक्षाकर्मीको पहलमा ४ घण्टा पछि नियन्त्रणमा आएको थियो।

आगलागीका कारण २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ।

घरभित्र रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए।

धनकुटा र संखुवासभाको सीमावर्ती क्षेत्र केवा खोला नजिकै रहेको घटनास्थल चानुवा प्रहरी चौकीबाट करिव ४ घण्टाको दुरीमा पर्दछ ।