पानवारी । नायिका सोबिता सिम्खडाले लेखेको पहिलो उपन्यास ‘वराङ्गना’ लिएर उपन्यास प्रकाशक तथा लेखक धरान आइपुगेका छन् । बुलबुल पब्लिकेशनले प्रकाशन गरेको उपन्यास वराङ्गगना लिएर पूर्वी नेपालको यात्रामा निस्किएको टोलीले पूर्वका विभिन्न सहरहरुमा स्रष्टा तथा सञ्चारकर्मीहरुसँग भेटघाट गरेको छ । बिहीबार धरानका सञ्चारकर्मी तथा साहित्यप्रेमीहरुसँग वराङ्गना टोलीले भेटघाट गरेको थियो ।
लेखिका सिम्खडाले लामो समयको अध्ययन पछि वराङ्गना लेखन सुरु गरेको बताइन् । उनले भनिन् –‘वराङ्गना भनेको एक सुन्दर महिला हो जो बाहिरी रुपले मात्र नभई भित्री सुन्दरताले भरिपूर्ण छे ।’ सिम्खडाले उपन्यास सुदुर गाउँकी एक दलित महिला जुनकिरी नामक पात्रको जीवन कहानी भएको बताइन् । उनले भनिन् –‘म दलित समुदायमा हुर्किएकी हैन तर मैले निकै लामो समय जुनकिरी पात्र भएर अध्ययन गरेकी छु र अध्ययन पश्चात ३ वर्ष लगाएर तयार गरेको उपन्यास हो यो ।’ उनले पूर्वी नेपालको यात्रा आफ्नो उपन्यासको प्रचारको लागी मात्र नभई देश घुम्ने र परिवेशको अध्ययनको लागी पनि भएको बताइन् । आफु लाइब्रेरीमा नै हुर्किएकी भन्दै बाल्यकालदेखि नै ओशोको साहित्यमा रुचि राखेर साहित्य अध्ययन गरेको बताइन् । उनले बाबाले पुस्तक पढ्न सुझाएका पुस्तकहरु पढेर साहित्यमा रस भिजेको र आफैले खोजेर पढ्नसक्ने भएपछि झनै अक्षरसँग सामिप्यता बढेको बताइन् । कार्यक्रममा प्राडा भिम खतिवडाले एकैचोटी उपन्यास लेख्न जो कोहीले नसक्ने भन्दै लेखक सिम्खडाको प्रशंसा गरेका थिए । उनले लेखक सिम्खडालाई सफलताको कामना व्यक्त गर्दै लेखकिय क्षमता अझै बढ्दै जाओस् भन्ने शुभकामना व्यक्त गरेका थिए । उपन्यास प्रकाशक अच्युत घिमिरेले आफुले पब्लिकेशनको सुरुवात गर्दा नेपालीहरुमा पढ्ने सँस्कृतिको बृद्धि गर्ने उदेश्य राखेको भन्दै सिनेमा क्षेत्रमा लगाव भएको व्यक्तिले लेखेको उपन्यास कम्तिमा सिनेक्षेत्रलाई माया गर्नेहरुले पढ्छन् भनेर प्रकाशन गर्न मन तर उपन्यासले जो सुकै पाठकको मन छुन सक्ने बताए ।