भद्रपुर । भारतीय कारभित्र लुकाइ राखेको ठूलो परिमाणमा लागूऔषध फेला परेको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाले चारदिन अघि नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको कारभित्र ठूलो परिणाममा लागूऔषध फेला परेको हो । असोज १३ गते भारतको पानीट्ङ्याकी नाकाबाट नेपाल प्रवेश गरेको डब्लु बी ७४ एफ २३१६ नम्बरको कारलाई भन्सार कर्मचारीले गेटमा चेकजाँच गर्दै चालकसँग भन्सार कागज माग गरेका थिए । चालकले भन्सार कागज लिएर आउँछु भन्दै फरार भएपछि कर्मचारीले उक्त कार भन्सार कार्यालय लगेका थिए । कार लगेको चारदिन सम्म चालक नआएपछि कर्मचारीले कारलाई पुनः चेकजाँच गर्न विहीबार साँझ खोलेका थिए । कारभित्र ठूलो परिमाणमा लागूऔषध फेला परेको जिल्लाका इन्सपेक्टर कुल प्रसाद चौधरीले जानकारी दिए । प्रहरी अनुसार कारभित्र सेतो रङ्गको प्लाष्टिकको बोरामा प्याक गरी चार वटै ढोकामा सेट गरि राखिएको ६०० एम्पुल डाइजापाम, ६०० एम्पुल लुपिजेससिक, ६०० एम्पुल फेनारगन र १सय ५७ पत्ता पेनकुलर औषधि बरामद गरिएको हो । बरामद गरिएको लागूऔषधलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।