भद्रपुर । पछिल्लो समय झापामा यौनजन्य हिंसाका घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय झापाले घटना न्यूनिकरणका लागि एक महिनासम्म टोल टोलमा प्रहरी अभियान कार्यक्रम सञ्चालनमा ल्याएसँगै घट्नामा कमी आएको हो । चालु आर्थिक वर्षको साउनमा ३० वटा यौनजन्यका घटना भएका थिए । घटनाले उग्ररुप लिएपछि झापा प्रहरीले भदौ ३ बाट २ सय ३५ जना प्रहरी कर्मचारीलाइ परिचालन गरेसँगै एक महिनाको अवधिमा १६ वटा घटना भएको झापा प्रहरीले जनाएको छ । अघिल्लो महिनाभन्दा भदौमा ४६ दशमलव ६७ प्रतिशतले कमी आएको जिल्लाका एसपी भीमप्रसाद ढकालले बताए । दुइ महिनाको अवधिमा ६६ जना अभियुक्तमध्ये ५१ जनालाइ पक्राउ गरिसकेको एसपी ढकाललको भनाइ छ । प्रतिशतको आधारमा ७७ दशमलव २७ प्रतिशत पक्राउ गर्न सफल भएको ढकालले जनाए । घटना न्यूनिकरणको लागि दुइसय दश पटक मोबाइल गाडी परिचालन,वीसवटा प्रहरी इकाइबाट ६ सय पटक पैदल गस्ती, तीनसय दश स्थानमा चेकजाँच,२७ ओटा होटल एण्ड लज,सम्भावित क्षेत्रका दुइसय दश स्थानमा निगरानी,६ सय ९० पटक मोटरसाइकल गस्ती लगायतको कर्यक्रम गरिएको उनले जानकारी दिए । अभियानको समयमा सवै क्षेत्रबाट सहयोग पाएको तथा घटनाबारे तत्काल प्रहरीलाइ खबर गर्नु पर्ने सोचको विकास भएको समेत पाइएको उनले बताए । तथ्याङ्कलाइ तुलना गरेर अनुसन्धान गर्दा शहरीकरणमा बढी घटना हुने गरेको उनको भनाइ छ । बेलुका ६ देखि मध्यरातसम्म बढी घटना हुने साथै १६ देखि २५ वर्ष उमेर समूहका पुरुष यस्मा संलग्न देखिने गरेको उनले बताए । हालसम्म भएका घटनामा डरत्रास,धाकधम्की,ललाइ फकाइ,आर्थिक प्रलोभन, शरिरबन्धक,जनचेतनाको अभाव,मादक पदार्थ,प्रेम विवाह,सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारणबाट हुदै आएको उनले जनाए । तीनवर्षको असार मसान्त सम्म २ सय ३५ ओटा यौनजन्य हिंसाका घटना भइसकेका छन् । ८ नगरपालिका र ७ गाउँपालिका गरी पन्ध्रवटा स्थानीय तहमा यस्ता घटना भएका थिए । झापामा ११ सय ६२ जना कार्यरत प्रहरी र ८ लाख ८ हजार ३ सय २४ जनसङ्ख्या रहेको छ ।