सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ स्थित आँपगाछिबाट प्रहरीले बिहीबार दिउँसो लागु-औषध सहित २ जना युवकलाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट हलगडाबाट खटिएको टोलीले लागु-औषध सहित धरान १० बस्ने वर्ष १९ को नाछु शेर्पा र धरान-८ बस्ने वर्ष १७ को समिर लिम्बुलाई पक्राउ गरेको हो ।

दिउँसो पौने २ बजेको समयमा काँकडभिट्टाबाट धरान जाँदै गरेको ना २ ख ८४३६ नम्बरको बसमा चेकचाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई शंका लागि चेकचाँच गर्ने क्रममा ट्रामाडोल नामक लागु-औषध ५ सय २० पिस र स्पास्मोप्रोक्सिभन ट्याबलेट १ हजार १० पिस फेला पारी नियन्त्रणमा लिईएको हो ।

बरामद लागु-औषध सहित दुबै जनालाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।