बिर्तामोड । झापाको सहारा नेपालले प्रदेश नम्बर १ का प्रमुख शहरमा ट्राफिक लाइट जडान गर्ने भएको छ । सहाराले सडक दुर्घटना न्युनिकरण महाअभियान अन्तर्गत प्रदेशका मुख्य शहरमा ट्राफिक लाईट जडान गर्ने भएको हो । बिर्तामोड सहित प्रदेशका मुख्य शहरहरु दमक, बिराटनगर, ईटहरी, धरान लगायतका शहरमा ट्राफिक लाईट जडान गर्ने भएको हो । ‘प्राविधिक रुपमा उपयुक्त स्थान, प्रविधि र दक्ष प्राविधिक छनौट गरेर ट्राफिक लाईट जडान गरिने छ’ जारी प्रेस नोटमा उल्लेख छ–‘स्थानीय, प्रदेश सरकार र ट्राफिक प्रहरीसँग समन्वय गरेर ट्राफिक लाईट जडान गर्ने योजना बनाएका छौं ।’ सहारा नेपालले त्यो भन्दा अघि यही मंसिर ४ गते चर्चित सांगीतिक ब्याण्ड नेपथ्यको उपस्थितीमा सांगीतिक कार्यक्रम आयोजना गरेको जनाएको छ । बिर्तामोडको डोमालाल रंगशालामा हुने सांगीतिक कार्यक्रममा ५ हजारभन्दा धेरै दर्शकको सहभागिता रहने बताएको छ । कार्यक्रमबाट संकलित रकम सडक दुर्घटना न्युनिकरण महाअभियानमा खर्च गरिने आयोजकले जनाएको छ । यस्तै चैत्र मसान्तसम्ममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजर (मादक पदार्थ सेवन गरे नगरेको पत्ता लाउने यन्त्र), १० वटा ¥याडर गन (गति मापन यन्त्र) र तीनवटा जेब्राक्रस मार्किङ मेसिन प्रदान गर्ने महाअभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए । सहारा नेपालले आगामी बैशाख महिनादेखि ट्राफिक नियमको बृहत रुपमा सचेतना कार्यक्रम आयोजना गर्ने बताएको छ । नियम बिपरित राखिएका होडिङ बोर्ड हटाउने, वाताबरणमैत्री पर्चा पम्प्लेट वितरण गर्ने, सञ्चारमाध्यमबाट सचेतनामुलक कार्यक्रम प्रकाशन प्रशारण गर्ने तथा कार्यक्रमको समिक्षा गरेर त्यसपछिका ढाँचामा फेरबदल गर्ने योजना रहेको संयोजक गिरीले बताए । नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुतीका लागि ५० लाख रुपैंयाँ खर्च अनुमान गरेको सहाराले ट्राफिक लाईट जडान तथा उपकरण प्रदान र सचेतना कार्यक्रम सञ्चालन गर्न ५ करोड रुपैंयाँ लाग्ने बताएको छ । हालसम्म बिभिन्न ब्यापारिक घरानाबाट ६ वटा मोटरसाइकल प्राप्त गरिसकेको बताउँदै गिरीले सहारा नेपालले ५ लाख रुपैंयाँ प्रदान गर्ने बताए । सहारा नेपाल सामाजिक क्षेत्रमा क्रियाशिल एनजिओ हो । झापामा मात्र एकबर्षमा १ सयजना भन्दा धेरैले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको ट्राफिक प्रहरी प्रमुख राजेश राईले बताए । मृत्यु र अंगभङगको परिणाम हेर्दा अब प्रविधिको उच्चतम प्रयोग नगरी दुर्घटना नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको उनले बताए । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले सहाराको सहयोगको उच्च प्रशंसा गरेका थिए । सहारा नेपालले यसअघि ट्राफिक प्रहरीलाई १० लाख मुल्यको ब्रेथलाइजर प्रदान गरेको थियो ।