विर्तामोड/ परिवर्तन थिएटरले असोज २० देखि २८ गतेसम्म ‘खदामा’ नामक नाटक प्रदर्शन गर्ने भएको छ । ‘खदामा’ अरबमा काम गर्ने नेपाली घरेलु महिलाको दुखको कथा हो ।
नाटकमा हजारौ नेपाली महिला कामदारहरुको कथा समेटिएको छ । वैदेशिक रोजगारीको क्रममा खाडी मुलुक पुगेका महिला कामदारहरु दलाल र मालिकहरुवाट कसरी शोषणमा पर्छन् भन्ने विषयलाई नाटकमा देखाउन खोजिएको छ ।
पत्रकार पर्वत पोर्तेलले नाटक लेखेका हुन् । निर्देशन भने युवा रंगकर्मी गणेश बस्नेतले गरेका छन् ।
नाटकमा निर्देशक बस्नेतसहित अनुजा अधिकारी, कविता नेपाल, लीला विष्ट, दिनेश राजवंशी, पूजा आचार्य, लोमश पौडेल, विमला चिमरिया, दिवेश लामिछाने, अभिशेष गड्तौला र प्रतिक्षा आचार्यले अभिनय गरेका छन् ।
संस्थाका अध्यक्ष कविता नेपालका अनुसार करिब एक घन्टा लामो यो नाटक प्रत्येक दिन २ वटा शो देखाइने छ ।
जसमा दिउसो साढे २ र साझ साढे ५ वजे रहेको छ ।
अध्यक्ष नेपालले सीमावर्ती सहरमा नाटक हेर्ने संस्कार र संस्कृतिको अभाव लामो समयदेखि खड्किएको थियो ।
त्यही खाँचोलाई पूर्ति गर्ने उद्देश्यले परिवर्तन थिएटर जन्मिएको हो ।
‘नाटक हेर्ने संस्कारको विकास गर्ने हाम्रो उद्देश्य हो’ अध्यक्ष नेपालले बताइन् ।
परिवर्तनले विगत ७ महिनादेखि अस्थाथी नाटक घर निर्माण गरेर नाटक हेर्ने संस्कार शुरु गरिसकेको छ ।
यो अवधिमा सुनामी, राजाको नया लुगा, उन्यू, वस स्टप जस्ता नाटकहरु प्रदर्शन गरिसकेको छ ।