धनकुटा/ लामो सयमदेखि फलामे साङ्लाले बाँधेर राखिएका धनकुटा–१० का एक युवकलाई बिहीबार उद्धार गरी अस्पताल लगिएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण ती युवकका परिवारले उपचार गराउन सकेका थिएनन् ।
२१ वर्षीय मोहन श्रेष्ठले गत चैत महिनादेखि अस्वभाविक गतिविधि गर्न थालेपछि बाँधेर राख्न बाध्य भएको बुवा पहलमान श्रेष्ठले बताए ।
घरपालुवा पशुपन्छी मार्ने, अभद्र व्यवहार गर्ने गरेपछि उनलाई परिवारले बाँधेर राखेको थियो ।
परिवारले झारफुकमा विश्वास गर्दै एकपछि अर्को धामीको भरमा उनको उपचार गर्न खोजे पनि मोहनको अवस्था झनै दयनीय बन्दै गयो ।
‘निको पारिदिने भन्दै धामीझाँक्रीले धेरै खर्च गरिदिए’ बुवा पहलमानले भने, ‘तर बीसको उन्नाइस नभएपछि घरैमा बाँधेर राखेका थियौं ।’
टेलिभिजन फुटाउने, घरको ढोका झ्याल तोडफोड गर्ने, मुखमा जे आयो त्यही बोल्ने, कपडा च्यात्नेलगायतका गतिविधिबाट श्रेष्ठ परिवारले आजित भएर उनलाई बाँधेर राखेका थिए ।
आफ्नै घरका बाख्रा, छिमेकीको सुँगुर, कुखुरा र खरायोसमेत मार्न थालेपछि शुरुमा उपद्रो गरेको भन्दै प्रहरीमा उजुरी गरिएको काका चन्द्र श्रेष्ठले बताए ।
प्रहरीले उपचार गराउन सल्लाह दिँदै मुक्त गरे पनि आर्थिक अवस्थाका कारण समयमा उपचार गर्न नसकिएको दिदी गीता श्रेष्ठले बताइन् ।
‘भाइलाई नियन्त्रण गर्न नसकेर बाँधिएको थियो’, उनले भनिन्, ‘कम्तिमा अब उपचार हुने आशा पलाएको छ ।’
पीडित मोहनको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले निःशुल्क गरिदिने भएको छ ।
अस्पतालसम्म लैजान धनकुटा नगरपालिकाले सवारी साधन उपलब्ध गराएको छ । स्थानीय सञ्चारकर्मी र आफन्तको रोहवरमा उनलाई उद्धार गरी धरान लगिएको छ ।
साङ्लाले बाँधिएको युवककाबारे सञ्चारमाध्यमबाट जानकारी पाएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ डा.मधुर बस्नेतले उपचार गरिदिने भएका हुन् ।
बिरामीको निःशुल्क उपचार गरिदिने र एक जना कुरुवालाई समेत प्रतिष्ठानले बस्ने प्रबन्ध मिलाएको डा.बस्नेतले बताए ।
मानसिक बिरामीको सङ्केत रहेकाले उनलाई उपचारबाट ठीक पार्न सकिने डा. बस्नेतले जानकारी दिए ।
गाउँबस्तीमा अझै पनि उपचार नगराई बाँधेर राखिएका कतिपयलाई उद्धार गरेर प्रतिष्ठानमा उपचार गरिएको उनको भनाइ छ ।
प्रतिष्ठानको उपचार कोषबाट आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क उपचार गराइने व्यवस्था गरिएको छ ।
‘अधिकांश मानसिक समस्या भएका बिरामीलाई निको बनाएर घर फर्काएका छौं’ डा. बस्नेतले भने, ‘मानसिक बिरामी भएकालाई घरमा नै बाँधेर भन्दा पनि समयमा नै उपचार गराउन सके निको हुन्छ ।’
विगत लामो समयदेखि फलामे साङ्लाले बाँधेर राखिएका धनकुटा नगरपालिका–१० मार्गाका २१ वर्षीय मोहन श्रेष्ठलाई बिहीबार उद्धार गरिँदै ।
उनलाई आफ्नै घरमा खाँबामा बाँधेर राखिएको थियो ।