सिरहा । जिल्ला सिरहाको नरहा गाउँपालिका ३ चोहर्वामा एकजना स्थानीय धनिकले डोम समुदायको घर भत्काई दिएका छन् । वर्षौदेखि ऐलानी जग्गामा बसोबास गर्दै आइरहेका डोम समुदायका घर स्थानीय भरतराज शर्माले डोजर नै चलाएर भत्काई दिएका हुन् । स्थानीय भरतराज शर्माले भाडाका गुण्डाहरु ल्याएर प्रहरीकै आँखा अगाडी डोजरले बस्दै आएको घर भत्काएपछि दशैंको मुखमा डोम परिवार बिचल्लीमा परेका हुन् । शर्माले डोम परिवार बस्दै आएको आफ्नो भन्दै भत्काएका हुन् । सडक छेउमा रहेको ऐलानी जग्गाम शर्माका मानिसले मरिक परिवारका दुईवटा माटो र टायलका घर तथा पशु खोर भत्काएको हो । घर भत्काएपछि उनीहरु स्थानीयले दिएको जस्ताको टहरो बनाएर बस्न बाध्य भएका छन् । घर भत्काइदिएपछि बिल्टु मरिक, उनका छोराबुहारी र उनकै भाई बेचु मरिक तथा बेचुका छोराबुहारी लगायत १८ जनाको बिचल्ली भएको हो ।

उनीहरु ५० वर्ष पहिलेदेखि बस्दै आएको वडा अध्यक्ष अनिसुल मियाँले जानकारी दिए । उनले भने,‘मेरा वुवाहरुकै पालादेखि उनीहरु यहाँ बस्दै आएका हुन्, भरतराजले पछि जमिन खरिद गरेर विवाद झिकिरहेको छ ।’

शर्माले डोम बस्तीपछाडि एक कठ्ठा ११ धुर विवादित जग्गा खरिद गरेपछि उनीहरु बस्दै आएको जग्गा खाली गर्न दबाब दिँदै आएका थिए । शर्माले शिवु महतो नामका व्यक्तिको जमिन किर्ते गरेर आफ्ना नाममा ल्याएको स्थानीयले जानकारी दिए

घर भत्काइदिँदा उनीहरू खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । प्रहरीकै संरक्षण र गुण्डाहरुको उपस्थितिमा घर भत्काई दिएको उनीहरू अरोप लगएको छ । यहाँसम्मकी प्रहरी कहाँ न्याय माग्न जादा उजुरी नै दर्ता गर्न नमानेको उनीहरूले बताए । घर भत्काउने बेलामा घरको खाद्यान्न लगायतका सामानहरु जताततै फालिदिएको उनीहरुले बताए ।

यता, शर्माले भने आफ्नो जग्गामै डोमको घर भएको भनेर अदालतबाट घर खाली गराउने आदेश दिएको बताए । स्थानीय गाउँलेले पनि डोम समुदाय ऐलानी जग्गामै बसोबास गर्दै आएको बताएका छन् । यस अघि २०७३ कात्तिक १७ गते पनि घर भत्काएका थिए । त्यसवेला स्थानीयले डोम परिवारलाई पूनःस्थापीत गराएका थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाले घर भत्काएको भन्ने जानकारी पाएपछि आफूहरु पुग्दा अदालतको आदेशअनुसार घर खाली गरेको थाहा पाएको जनाएको छ ।