सिरहा/सिरहाको नरहा गाउँपालिका–३ चोहर्वाका डोम समुदायको घर भत्काइ दिएपछि बिचल्लीमा परेको छ ।
वर्षौदेखि ऐलानी जग्गामा बसोबास गर्दै आइरहेका डोम समुदायको घर स्थानीय भरतराज शर्माले डोजर चलाएर भत्काई दिएपछि दशैंको मुखमा विचल्लीमा परेका हुन् ।
शर्माले भाडाका गुण्डाहरू प्रयोग गरेर प्रहरीकै अगाडि डोम समूदायको घर भत्काएपछि उनीहरु समस्यामा परेका हुन् ।
शर्माले डोम परिवार बस्दै आएको जग्गा आफ्नो भएको भन्दै भत्काएका हुन् ।
घर भत्काएपछि बिल्टु मरिक, उनका छोराबुहारी र उनकै भाइ बेचु मरिक तथा बेचुका छोराबुहारीसहित १८ जनाको परिवार बिचल्लीमा परेको हो ।
उनीहरू स्थानीयले दिएको जस्ताको टहरोमा बस्न बाध्य छन् ।
५० वर्षदेखि बस्दै आएको जग्गाको घर भत्काइदिएको वडाध्यक्ष अनिसुल मियाँले जानकारी दिए ।
उनले भने, ‘मेरा बुबाहरुकै पालादेखि उनीहरु यहाँ बस्दै आएका हुन्, भरतराजले पछि जमिन खरिद गरेर विवाद झिकिरहेको छ ।’
शर्माले डोम बस्ती पछाडि एक का ११ धुर विवादित जग्गा खरिद गरेपछि उनीहरु बस्दै आएको जग्गा खाली गर्न दबाव दिँदै आएका थिए ।
शर्माले शिवु महतो नामका व्यक्तिको जमिन किर्ते गरेर आफ्ना नाममा ल्याएको स्थानीयको दाबी छ ।
प्रहरीकै संरक्षण र गुण्डाहरूको उपस्थितिमा घर भत्काई दिएको उनीहरू आरोप छ ।
यस घटनाबारे प्रहरीमा न्याय माग्दासमेत उजुरी दर्ता नगरेको उनीहरू बताउँछन् ।
शर्माले भने आफ्नो जग्गामै डोमको घर भएको भनेर अदालतबाट घर खाली गराउने आदेश दिएअनुसार भत्काएको बताए ।
यस अघि २०७३ कात्तिक १७ गते पनि घर भत्काएका थिए । त्यसबेला स्थानीयले डोम परिवारलाई पूनः स्थापित गराएका थिए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले घर भत्काएको भन्ने सूचनाको आधारमा पुग्दा अदालतको आदेशअनुसार नै घर खाली गरेको जानकारी आएको जनाएको छ ।