इलाम/ मानव बेचविखनको लागि भारत लैजाँदै गरेका तीन बालिकाको प्रहरीले उद्धार गरेको छ ।

केही दिन अघि रुकुम, सुर्खेत र जाजरकोटबाट ल्याइएको बालिका उद्धारसँंगै मानव ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ ।

तीन बालिकामध्ये एकलाई भारतको दार्जिलिङबाट उद्धार गरिएको हो ।

बालिकाहरुलाई ललाइफकाइ गरी बेचविखन गर्ने उद्देश्यले पशुपतिनगरस्थित सीमा नाका हुदैँ भारत तर्फ लान लाग्दा भारतीय प्रहरी, माइती नेपालसँगको सहकार्यमा दार्जिलिङस्थित होटलमा राखिएको अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

भारत लगिदै गरेका तीन बालिका मध्ये दुई जना १६ वर्षका र एक जनाको उमेर १५ वर्ष रहेको छ ।

उद्धार गरिएका एक बालिकालाई परिवारले जिम्मा लगाइएको छ ।

दुई बालिकालाई माइति नेपालमा राखिएको छ ।

मानव ओसारपसारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।