भद्रपुर/आउदै गरेको चाडपर्वको समयमा खुल्ला सीमा क्षेत्रमा अपराधिक क्रियाकलाप हुने सक्ने भएकोले सबैलाई चनाखो हुन सुरक्षा निकायले अनुरोध गरेको छ ।

सीमावर्ती नाकासँग जोडिएको भद्रपुर लगायत अन्य क्षेत्रका नागरिकलाइ जिल्ला प्रहरी कार्यालयले सचेत रहन अनुरोध गरेको हो ।

चाडपर्वको समयमा घर छाडेर जाने वा होटल तथा लजमा कुनै अपरिचित व्यक्तिले शङ्कास्पद गतिविधि गरे तत्काल प्रहरीलाई खबर गर्न जिल्लाका एसपी भीमप्रसाद ढकालले अनुरोध गरेका छन् ।

वडा प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले शुक्रबार आयोजना गरेको वडा दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सुरक्षात्मक अन्तरक्रिया कार्यक्रममा एसपी ढकालले यस्तो अनुरोध गरेका हुन् ।

चाडपर्वको समयमा आफै सचेत बन्नुका साथै कानूनी दायरमा रहेर चाडपर्वलाई मनाउन उनले सबैपक्षलाइ आग्रह गरेका छन् ।

वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जबेगूले केहीदिन अघि सर्वपक्षिय भेला गराइ भद्रपुर क्षेत्रमा रहेका होटल तथा लज, बजार, पसल ,वित्तिय कारोबार, सुन पसल लगायतका स्थानहरुमा समय निर्धारण गरिएको जनाए ।

चाडपर्वलाइ मध्यनजर गरी केहीदिन यता गस्ती गाडीको प्रयोग गरी विभिन्न सूचनाहरु माइकिङ् गरिरहेको उनले जनाए ।

सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरका अध्यक्ष शीला खडकाको अध्यक्षता तथा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरका उपप्रमुख चन्द्रमाया श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष बन्धु कार्की, झापा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज पनेरु, सेवा केन्द्रका सल्लाहाकार डम्बर बर्मा लगायतले मन्तव्य राखेका थिए ।

वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जबेगूले स्वगत गरेको कार्यक्रम को सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी कर्मचारी लक्ष्मी नेम्बाङले गरेकी थिइन् ।