पाँचथर/ फिदिम नगरपालिकाले गर्भवती, सुत्केरी र विपन्न महिलालाई पोषण भत्ता दिने भएको छ ।
नगर कार्यपालिकाको बैठकले पोषण भत्ता स्वरुप तीन हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले गर्भवती, सुत्केरी र विपन्न महिलालाई यसै आर्थिक वर्षदेखि पोषण भत्ता प्रदान गरिने बताए ।
उनका अनुसार पोषण भत्तावापत् नगरपालिकाले दिने रकमले पोषणयुक्त खानेकुरा खानु पर्नेछ ।
त्यस्तै नगर कार्यपालिकाको बैठकले मान्यता प्राप्त अस्पतालबाट प्रमाणित दीर्घ रोगी, मृगौला, फोक्सो, क्यान्सर र मुटु रोगबाट सङ्क्रमितलाई दश हजार रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
खाडी मुलुकमा रोजगारीका क्रममा निधन भएका विपन्न परिवारलाई क्रिया खर्च २० हजार, जिल्लास्थित मातृ पार्टीहरूको अधिवेशनमा दश हजार, जनवर्गीय सङ्गठनको भेला वा अधिवेशनमा पाँच हजार, फिदिम नगरस्तरीय खेलकुद कार्यक्रममा २० हजार वडास्तरीय खेलकुद कार्यक्रममा दश हजार, जिल्ला स्तरीय खेलकुद कार्यक्रमलाई २५ हजार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा ५० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ ।
दरबन्दीअनुसार शिक्षक नहुँदा पठन–पाठनमा समस्या भएका विद्यालयमा पनि स्वयम्सेवक शिक्षक राख्ने नगरपालिकाले जनाएको छ ।
जसअन्तर्गत जिल्लाका २१ वटा सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षक राखिने बताइएको छ ।
यसै गरी आर्थिक वर्ष ०७४/७५ मा निजी विद्यालयको दर्ता र कक्षा थप अनुमति दिँदा लिएको धरौटी रकम पनि सम्बन्धित विद्यालयलाई फिर्ता गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ ।
बैठकले फिदिम नगरपालिकाको आफ्नै लोगो निर्माण गर्ने लगायतका अन्य विभिन्न निर्णयसमेत गरेको नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले बताए ।