धरान / धरान ५ स्थित अधेरी खोलाबाट अवैध रुपमा ढुङ्गागिटी उठाउदै गरेको दुई ट्याक्टरलाई इलाका वन कार्यलय धरानले पक्राउ गरेको छ । चुरे क्षेत्रमा प्राकृतिक श्रोतको उत्खनन्मा बन्देज लगाइएको बेला अवैध रुपमा ढुङ्गागिटी उठाउदै गरेको अवस्थामा खोलाबाटै दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको इलाका वन कार्यालयका वन अधिकृत ज्ञानकुमार लामाले जानकारी दिए । स्थानीय तहसँग समन्वय गरेर बाटो मर्मत तथा अन्य कामका लागि उत्खनन गर्न दिइए पनि वन कार्यलयसँग कुनै समन्वय नगरि व्यक्तिगत प्रयोजनका लागि ढुङगा गिटी उठाउन लागिएकाले नियन्त्रणमा लिइएको अधिकृत लामाले बताए । उक्त ट्याक्टर धरान उपमहानगर वडा नं. ५ का वडा अध्यक्ष सन्तोष लिम्बुको दाजुको भएको खवर आएको लामाले जानकारी दिए । तर ट्याक्टर वडाध्यक्षकै भएकाे स्थानीय बासीले बताएका छन् । आज शनिवार भएकाले नियन्त्रणमा लिएका ट्याक्टरलाई आईतबार आवश्यक अनुसन्धान गरि कानुनी कारवाही गरिने उनले बताए । वन कार्यलयको गस्ती टोलीले उक्त ट्याक्टर नियन्त्रणमा लिएको हो । फाइल तस्विर ।