बैङ्कक/ थाइल्याण्डका राजा र उहाँको परिवारका लागि झण्डै एक हजार ६ सय सुरक्षाकर्मी खटाइएको छ । राजा महा भाजिरालोङकोर्न र उनको परिवारका लागि यति ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु खटाइएको सुरक्षा स्रोतले जनाएको छ । थाइल्याण्डको राजसंस्थालाई उच्च सम्मानकासाथ हेरिन्छ भने त्यही अनुसारको सुरक्षा व्यवस्था गरिएको छ ।
थाइल्याण्डका जनताले अति आदर गर्ने तत्कालिन नरेश भूमिबोलको निधन भएपछि अहिले उनका छोरा राजा बनेका छन् । स्वघोषित विषेश सेवा विभाग नवनियुक्त प्रमुख तोर्साक सुक्भीमोलले एएफपीलाई दिएको जानकारी अनुसार हालै मात्र ४ सय सुरक्षाकर्मीहरु थपिएका छन् । थपिएका सुरक्षाकर्मीहरु अपराध नियन्त्रण विभागबाट ल्याइएको उनले जानकारी दिए । उनीहरुलाई शाही परिवारको सुरक्षा र संस्कारका बारेमा पनि प्रशिक्षित गरिएको छ । “अहिले थपिएका सहित गरेर कुल सुरक्षाकर्मीहरुको संख्या एक हजार ६१७ पुगेको छ” तोर्साकले भने । उनीहरुले करिब पाँच बर्ष त्यहाँ सेवा गर्ने बताइएको छ । शाही सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुलाई दश उप विभागमा विभाजन गरेर जिम्मेबारी दिइएको छ ।