इलाम/ पूर्वको जिल्ला इलाम भारतसँग सीमाना जोडिएको जिल्ला भएकाले सीमा विवाद,स्तम्भ हटाउने लगायतका गतिविधिहरुलाई हटाउनका इलाममा सशस्त्र प्रहरीको गण स्थापना भएको छ ।
तत्कालिन सशस्त्र प्रहरी बल श्रीअन्तु गुल्मलाई मिति गत जेठ २७ गते नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार गत श्रावण १३ गतेबाट सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर इलाम नं १ गणमा स्तरोन्तति भई स्थापना भएको हो ।
जिल्लाका विभिन्न स्थानमा बिओपि बनाउने र सीमा सुरक्षा, विप्लप समूहको भित्ते लेखन जस्ता अराजकता हुन नदिन र शान्ति सुरक्षा कायम गर्नका लागि हेडक्वाटर स्थापना भएको सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक बिदुर थापाले बताए ।
इलाम जिल्लाको पूर्वी सीमाना पशुपतिनगरमा भने चाडवाडलाई लक्षित गरि केही दिनभित्र नै पोस्ट स्थापना गरिदैँ छ ।
सीमा क्षेत्रको सबैभन्दा बढी आवतजावत हुने क्षेत्र रहेको पशुपतिनगरमा सशस्त्र प्रहरीको इस्पेक्टरको कमाण्डमा ३५ जनाको पोस्ट रहने छ ।
यस्तै जिल्लाकै मानेभञ्ज्याङ्ग, छब्बिसेर सन्दकपुर गरि चार वटा क्षेत्रमा बिओपि स्थापना हुन भने केही समय लाग्ने छ ।
हिमाली क्षेत्रमा भौगोलिक कठिनाईका कारण पोस्ट राख्ने उचित स्थान नभएकाले समेत समय लाग्नेछ ।
सीमा क्षेत्रबाट २०० मिटरमा पोस्ट बस्न मिल्ने भएतापनि सीमा विवादका कारण समेत कतिपय स्थानमा बस्ने ठाँउ नभएको कारण ५०० मिटर सम्मको दुरीमा राख्नुपर्ने छ ।
इलामको तत्कालको सन्दर्भमा सशस्त्रको तीन वटा वेस क्याम्प रहेको छ । पूर्वी इलामको सूर्योदय नगरपालिका स्थित आइतबारे वेस क्याम्प, दक्षिण माई नगरपालिकाको दानाबारी र पश्चिम इलामको माङ्सेबुङ्ग गाँउपालिकाको बाझोँमा रहेको सशस्त्रको बेस क्याम्प मात्र रहेकाले यसलाई सहज बनाउन बिओपि स्थापना गरिने छ ।
नेपाल भारतको सीमाना रहेको पशुपतिनगर नाकामा बढीजसो अपराधिक घटना हुने र ओहोरदोहोर समेत बढी हुने हुनाले चाडवाडको मुखमा अपराधिक क्रियाकलाप हुन नदिन दशगजा क्षेत्रमा हेल्प डेस्क राखिने भएको छ ।
भारतीय प्रहरी एक एसबी र सशस्त्र प्रहरी दुबै तर्फका प्रहरीहरुको नेपाल र भारत दुबै क्षेत्रमा हेल्प डेस्क सञ्चालन गरिने छ ।
इलाम जिल्लामा हुने सीमाना विवाद, अपराधिक क्रियाकलाप,विपत व्यवस्थापनलाई न्युनिकरण गरि राष्ट्रिय नितीमा शान्ति क्षेत्र इलाम निर्माण गर्न ६२१ जनाको गणले इलामका दश वटै क्लस्टरलाई शान्ति क्षेत्र कायम गर्न इलाममा हेडक्वाटर स्थापना भएको हो ।
चाडवाडको समयलाई मध्यनजर गरि मेची राजमार्ग,बजार क्षेत्र,सीमा क्षेत्रमा सुरक्षा योजना साथै विपत व्यवस्थापनको कक्षा सञ्चालन जस्ता कार्य गरि समग्र जिल्लामा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न जिल्ला प्रशासन,नेपाल प्रहरी,पत्रकार लगायत सबै क्षेत्रसँग समन्वय गरि कार्य गर्ने सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर इलाम नं १ गणका उपरिक्षक बिदुर थापाले बताए