काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपा० नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको लिखित असहमति पत्रको विषयमा छलफल हुने भएको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटीमा छलफल गर्ने एजेण्डाहरु तय गरेको हो । पार्टी एकता संरचना निर्माण, लगायत नेता नेपालको असहमति पत्रलाई पनि एजेण्डाको रुपमा लगिएको छ । प्रदेश इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष,सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले लिखित असहमति नै दर्ता गरेका थिए ।
सचिवालयबाट नभई स्थायी कमिटीबाट निर्णय गर्नुपर्ने, आफू विदेश भ्रमणमा भएका बेला निर्णय गरेको, मापदण्डअनुसार नभएको भन्दै नेता नेपालले महासचिव विष्णु पोडैलमार्फत असहमति पत्र दर्ता गराएको थिए । सचिवालय बैठकको एजेण्डा बनाएर उक्त विषयमा पर्सी छलफल गर्ने तय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सोमबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अमेरिका भ्रमण, अर्का अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले चीन भ्रमणको उपलब्दीबारे जानकारीसमेत गराएका छन् । पर्सी सचिवालयको बैठकमा स्थायी कमिटी बैठकको एजेण्डा र मितिबारे समेत छलफल हुने नेताहरुले बताए ।