वराहक्षेत्र/डिभिजन सडक कार्यालय विराटनगरले धरान–चतरा–वराहक्षेत्र सडकको मर्मत गरेको छ ।
ब्लाष्ट दैनिकले सडक अलपत्र परेको समाचार प्रकाशित गरेपछि कार्यालयले सडक मर्मत गरेको हो । शनिबार सडक विभागले वराहक्षेत्रको धनसार खोला, मोतीडाँडा यसैगरी चतरा–धरान सडक–खण्डको बाघखोला, पटनालीमा भएका खाल्डाखुल्डी पुर्ने तथा मर्मत गर्ने काम गरेको सडक विभाग विराटनगरका डिभिजनल इञ्जिनियर जितेन्द्र चौधरीले बताए ।
वराहक्षेत्र–१ ले पनि धरान–चतरा सडक– खण्डमा भएको जीर्ण सडक मर्मत गरेको वडा सचिव लक्ष्मण पौडेलले बताए । सडक मर्मतपछि वराहक्षेत्र मन्दिरसम्म सवारी सञ्चालन हुन थालेको स्थानीय कुमार श्रेष्ठले बताए ।
चतराघाट–वराहक्षेत्रसम्मको सडक निर्माण गर्ने जिम्मा दुहबीको गीताञ्जली कन्स्ट्रक्सन प्रालिले पाएको छ । ९ करोड बजेटमा ४ किलोमिटर लम्बाइको उक्त सडक ३ वर्षमा सम्पन्न गर्ने गरी २०७१ सालमा सम्झौता भएको थियो ।
तर ५ वर्ष लाग्दै गर्दा सडक अझै बन्न सकेको छैन् । उता धरान–चतरा सडक पनि उस्तै हालत छ ।
गैरजिम्मेवार सडक विभाग विराटनगर र ठेकेदार नागार्जुन कन्स्ट्रक्सनले गर्दा, निर्माण शुरु भएर २ वर्षमा सम्पन्न हुनुपर्ने धरान–चतरा कालोपत्रे सडकको काम ६ वर्ष लाग्दै गर्दा काम सम्पन्न हुन सकेको छैन ।
यसैगरी वराहक्षेत्र नगरपालिका–१ स्थित लालबस्ती क्षेत्रको गौरीखोलादेखि तोरीबारी खानेपानी सडकमा बत्ती जडान भएको वडासचिव लक्ष्मण पौडेलले बताए ।
स्थानीयले सडक बत्ती लगाउन माग गरेको समाचार आएपछि बत्ती जडान गरिएको हो ।
सडकमा ३ वटा सिएफएल अपर्याप्त भएकाले स्थानमा सडक बत्ती लगाइनु पर्ने लालबस्तीवासीले माग गरेको स्थानीय घनश्याम कार्की ढोलीले बताए ।