काबुल कारागार नजिक आत्मघाती आक्रमण
- कार्तिक १५, २०७५
- ब्लाष्ट खबर
रासस-एएफपी/ अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसलाई लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरूले बताएका छन् ।
प्रहरी प्रवक्ता बासिर मुजाहिदले आक्रमणबाट अरु पाँच जना घाइते भएको बताए । उक्त बसमा काबुलको पुल–ए–चार्खी कारागारमा कार्यरत कर्मचारी थिए ।
अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले आक्रमणकारी सडकमा पैदल हिँडिरहेका व्यक्ति भएको बताए ।
कर्मचारी बोकेको बस कारागारभित्र प्रवेश गर्नै लाग्दा ती व्यक्तिले आत्मघाती आक्रमण गरेका थिए ।
विष्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन, तर इस्लामिक स्टेटका लडाकुहरूले पछिल्ला महिनाहरूमा काबुलमा आत्मघाती आक्रमणमा तीव्रता दिएका छन् ।
काबुलको निर्वाचन आयोगमा आत्मघाती आक्रमण भएको एकदिनपछि नै यो आक्रमण भएको हो, जसबाट एक जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका थिए ।
अफगानिस्तानको यसपटकको संसदीय चुनावमा व्यापक मात्रामा हिंसात्मक आक्रमणका घटना भएका छन् ।
अफगानिस्तानमा जारी हिंसा अन्त्यको उपाय खोजी गर्न यसै महिनाको शुरुमा नवनियुक्त अमेरिकी दूत जाल्मे खलिलजादले तालिवानका प्रतिनिधिहरूसँग कतारमा भेटवार्ता गरेका थिए ।
उक्त भेटवार्ताको दुई सातापछि नै पाकिस्तानी जेलमा आठ वर्षदेखि थुनामा रहेका तालिवानका एक जना उच्च कमाण्डरलाई मुक्त गरिएको थियो ।
एकजना वरिष्ठ तालिवानी नेताले खलिलजादसँगको भेटमा अब्दुल घानी बरादर र अरु धेरै नेताहरूलाई मुक्त गर्न आग्रह गरिएको बताए ।