रङ्गेली/उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जनचाहनाअनुसार निर्माणमा भएको वर्तमान सरकारको लोकप्रियता कायमै रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले वर्तमान सरकार पाँच वर्षका लागि गठन भएकाले जनचाहनाअनुसार काम गरिरहेको जिकिर गरे ।
कालोबजारी, महँगी नियन्त्रण गर्न सरकार दत्तचित्त भएर लागेकाले त्यसो गर्र्ने कसैलाई सरकारले नछाड्ने बताए ।
मन्त्री यादवले सरकारले चिनीको बिक्री मूल्य ७० रुपैयाँ प्रतिकेजी कायम गरेकाले उक्त मूल्यभन्दा बढीमा बिक्री गरेको पाइए कारबाही हुने बताए ।
उपभोक्ता र उद्योगीहरूसँग छलफल गरेर सरकारले चिनीको खुद्रा मुल्य ७० कायम गरेको प्रष्ट पारे ।
उपभोक्तालाई गुणस्तरीय सामान प्रदान गर्नु व्यापारीको दायित्व भएको भन्दै ग्रामीण क्षेत्र र साना शहरका बजार अनुगमनलाई तीव्र बनाइने उनले बताए ।
फरक प्रसङ्गमा मन्त्री यादवले मन्त्री परिषद् पुनः गठनबारे जानकारी नभएको बताए ।